एसपी रिपोर्टर
एजेन्सी, साउन २४ : अफगानिस्तानमा सरकारसँग युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको बताएको छ । अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेका छन् ।
पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको यो दोस्रो प्रान्तीय राजधानी हो । यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहरमा पनि तालिबानले कब्जा जमाएको थियो । तालिबानले गत शुक्रबार प्रान्तका गभर्नरको कार्यालयको कम्पाउण्डलाई नै आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अफगानी सेनाले तालिबानलाई हटाएको थियो ।
प्रान्तका काउन्सिल प्रमुख बाबुर एस्कीले भने तालिबानका लडाकुले अहिले सेनाको बेसक्याम्पबाहेक सबै सहरलाई कब्जामा लिएको बताएका छन् । बेस क्याम्पमा अहिले पनि युद्ध चलिरहेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेको छ ।