एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २१ :
महोत्तरीको पिपरा गाउँपालिका–२ ढेकाहाका ४५ वर्षीय भरत महतोको शनिबार अन्तिम संस्कार गरिएको छ । साउदी अरबमा ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महतोको पार्थिव शरीरमा उनका १२ वर्षीय छोरा राजन महतोले दागबत्ती दिएका छन् ।
१४ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका महतोको पार्थिव शरीर शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यहाँबाट गृहजिल्ला पुर्‍याइएपछि शनिबार अन्तिम संस्कार गरिएको हो । गत कात्तिक ४ गते यमनका हुथी विद्रोहीले साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामकोको परियोजनालाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा उनको मृत्यु भएको थियो ।
उनी अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमार्फत उक्त परियोजनामा सरसफाइको काम गर्दै आएका थिए । परिवारको जीविकोपार्जनका लागि १४ वर्षदेखि विदेशमा श्रम गरिरहेका उनको अप्रत्याशित निधनले परिवार शोकमा डुबेको छ ।
यसैबीच, रियादस्थित नेपाली दूतावासको पहलमा भरत कार्यरत कम्पनीले उनको परिवारलाई क्षतिपूर्तिबापत १ लाख ८१ हजार साउदी रियाल उपलब्ध गराउने सहमति भएको जनाइएको छ ।