एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ६:
नेपालको विद्यालय शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यले प्रधानाध्यापक संघ नेपालले १२ बुँदे राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिबद्धता सार्वजनिक गरेको छ ।
जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित संघको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवस्थापकीय परिवर्तन आवश्यक रहेको निष्कर्षसहित प्रतिबद्धतापत्र जारी गरिएको हो ।
‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने नारासहित आयोजित सम्मेलनमा देशभरका करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।
प्रतिबद्धतापत्रमा विद्यालय नेतृत्व सुदृढीकरण, शिक्षकको पेसागत क्षमता विकास, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
विद्यालयलाई विपद् जोखिमबाट सुरक्षित बनाउने, हरित विद्यालय अभियान सञ्चालन गर्ने, शिक्षक तथा कर्मचारीको पेसागत सम्मान र प्रोत्साहन बढाउने तथा विद्यार्थीलाई नैतिक, प्राविधिक र जीवनोपयोगी सीप प्रदान गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएका छन् ।
यसका साथै विद्यालय सुधारमा अभिभावक तथा समुदायको सहभागिता बढाउने, बालअधिकार, लैङ्गिक समानता र विद्यार्थीको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने तथा सफल विद्यालयका अभ्यास र शैक्षिक अनुसन्धानलाई संस्थागत गर्ने उल्लेख छ ।
प्रतिबद्धतापत्रमा मधेश प्रदेशको शैक्षिक गुणस्तर र साक्षरता दर वृद्धि गर्न प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरी विशेष कार्यक्रम सञ्चालन गर्ने विषयसमेत समावेश गरिएको छ ।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतम र महासचिव लक्ष्मण श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा ‘सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धि’ भन्ने अवधारणालाई विद्यालय सुधारको आधार बनाइएको छ ।