एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २७ :
कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट सहभागी हुने खेलाडी छनोट गर्न प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको छ ।
मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी छन् । ‘खेली मधेस, जिती मधेस’ नारासहित आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय खेलकुदमा मधेस प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुका अनुसार १०औँ राष्ट्रिय खेलकुदमा ३२ विधाका खेल समावेश भए पनि मधेस प्रदेशले २९ खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।

प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, बुद्धिचाल, उसु र हक्कीलगायतका खेल समावेश छन् ।
प्रदेशमा खेलकुदको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्यसचिव कानुले बताए । उनले खेलकुद क्षेत्रको बजेट कटौतीप्रति चिन्ता व्यक्त गर्दै खेलाडीको क्षमता विकास र पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
पर्याप्त लगानी अभावमा खेलाडी उत्पादन र राष्ट्रियस्तरमा प्रदेशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न चुनौती हुने उनको भनाइ छ ।


