एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ३ :
विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास र नीतिगत सुधारका विषयमा राष्ट्रिय बहस गर्ने उद्देश्यले प्रधानाध्यापक संघ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरधाममा आयोजना हुने भएको छ ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने तीनदिने सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षाविद्, नीति निर्माता, जनप्रतिनिधि तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रधानाध्यापक संघ मधेश प्रदेशका अध्यक्ष सञ्जयकुमार झाले सम्मेलनले विद्यालय शिक्षाको सुधारका लागि राष्ट्रियस्तरमा साझा धारणा र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनका अनुसार विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापकको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र नवीन शिक्षण विधिको प्रयोगमा जोड दिइनेछ ।
सम्मेलनको दोस्रो दिन विद्यालय शिक्षाको वर्तमान अवस्था, नीतिगत चुनौती, विद्यालय सुरक्षा, जलवायु अनुकूल शिक्षा, अंग्रेजी भाषा शिक्षण, गणितीय सीप, शिक्षक सहकार्य तथा शिक्षणमा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुनेछ ।
अन्तिम दिन मंसिर ६ गते विद्यालय शिक्षाको गुणस्तर सुधार, नीतिगत सिफारिस, शैक्षिक नेतृत्व विकास र भावी कार्ययोजना समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिनेछ । साथै उत्कृष्ट अभ्यास गर्ने सामुदायिक विद्यालय तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने जनप्रतिनिधि र सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको सम्मेलनलाई विद्यालय शिक्षा सुधारका लागि राष्ट्रियस्तरमा साझा प्रतिबद्धता निर्माण गर्ने अवसरका रूपमा लिइएको छ ।


