एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
श्रीलंकाको कोलम्बोमा जारी २०२६/२०२७ SAME Mission 1.5 Summit मा लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल को आयोजनामा आगामी डिसेम्बर १६ देखि १९, २०२६ सम्म काठमाडौंमा हुने 54th Lions ISAME Forum का अन्तर्राष्ट्रिय प्रतिनिधिहरूका लागि जनकपुरधामलाई विशेष भ्रमण गन्तव्यका रूपमा समावेश गरिएको छ।
उक्त निर्णयसँगै माता जानकीको पवित्र जन्मभूमि जनकपुरधाम विश्वका ३० भन्दा बढी देशबाट नेपाल आउने हजारौँ लायन्स प्रतिनिधिहरूको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। यसले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने अवसरका रूपमा यस निर्णयलाई हेरिएको छ। भ्रमण कार्यक्रममार्फत यहाँका धार्मिक सम्पदा, सांस्कृतिक पहिचान, कला, परम्परा तथा पर्यटन सम्भावनाको विश्वसामु प्रचार–प्रसार हुने अपेक्षा गरिएको छ।
यस अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा लायन्स परिवारबीच समन्वय र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। जनकपुरधामलाई व्यवस्थित, स्वच्छ, आकर्षक तथा विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्न आवश्यक पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
जनकपुरधामलाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको भ्रमण गन्तव्यका रूपमा छनोट गरिनु सम्पूर्ण जनकपुरवासीका लागि गौरवको विषय बनेको छ।