एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ४:
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था सन्तोषजनक नरहेको भन्दै शिक्षा क्षेत्रको गुणस्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले शिक्षा सुधारका लागि स्थानीय सरकार, विद्यालय र समुदायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले निजी र सामुदायिक गरी दुई धारको शिक्षा प्रणालीले अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गर्दै शिक्षाको जिम्मेवारी स्थानीय तह र समुदायले लिनुपर्नेमा जोड दिए । विद्यालयको गुणस्तर सुधारमा प्रधानाध्यापक, शिक्षक र अभिभावकसमेत जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
यादवले विगतमा शिक्षा समुदायको स्वामित्व र निगरानीमा रहेकाले विद्यालयप्रति स्थानीयको अपनत्व बढी हुने गरेको स्मरण गर्दै शिक्षा सुधारका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले पनि नेपालको शिक्षा क्षेत्रको अवस्था कमजोर रहेको बताए । उनले शिक्षा क्षेत्रमा न्यून बजेट विनियोजन, विद्यार्थीको दयनीय अवस्था र शिक्षकले पर्याप्त सेवा सुविधा नपाउनु शैक्षिक सुधारका प्रमुख चुनौती रहेको उल्लेख गरे ।
‘विद्यालय नै बिरामी परेपछि गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिँदैन,’ उनले भने ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा शिक्षा क्षेत्रका विभिन्न विषयमा प्यानल छलफल हुने र समापनका अवसरमा जनकपुरधाम घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ ।


