एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ३ :
जनकपुरधाममा यस वर्षको श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवको तयारी औपचारिक रूपमा सुरु गरिएको छ । आगामी मंसिर २३ गतेदेखि साताव्यापी रूपमा मनाइने महोत्सवलाई व्यवस्थित, भव्य र सुरक्षित बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।
महोत्सवको तयारी तथा व्यवस्थापनका विषयमा बिहीबार जानकी मन्दिरमा आयोजित सर्वपक्षीय बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा गेट व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका जिम्मेवारी छुट्टाछुट्टै समिति बनाएर अघि बढाउने निर्णय गरेको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा बसेको बैठकमा बोल्दै उत्तराधिकारी महन्थ रामरोशन दासले विगतका वर्षभन्दा यस वर्षको महोत्सवलाई अझ भव्य र व्यवस्थित बनाउने गरी तयारी अघि बढाइएको बताए । उनले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय आवश्यक रहेको बताए ।
विवाहपञ्चमीमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका स्थानबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयमा बैठकमा विशेष जोड दिइएको थियो ।
बैठकमा धार्मिक संघसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


