एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३ : जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कपको सातौ दिनको दुई खेलहरुमा क्रमश ओम ईन्टरनेशनल र एर्रे ईन्टरनेशनल स्कुलले जितेको छ । मंगलवारको पहिलो शुभतारा स्कुल विरुद्वको खेलमा ओम ईन्टरनेशनलले ९ विकेटको फराकिलो जित हात पारेको छ । टस जितेर ओम टिमले फिल्डीङ्ग रोजेपछि पहिलो ब्याटिङ्ग गर्न आएको शुभतारा ९ ओभरमै सबै विकेट गुमाउदै मात्र ३७ रनको समान्य स्कोर बनाउन सक्यो ।
प्रतिउतरमा ब्याटिङ्ग गर्न आएको ओमले मात्र पाँच ओभरमा एक विकेटको नोक्सानमा ३८ रन बनाएर जित हात पार्न सफल भयो । मंगलवार दिउँसो भएको खेलमा एर्रे ईन्टरनेशनल टिमले मदर टेरेसा स्कुललाई ३१ रनले हराएको छ । टस जितेर ब्याटिङ्ग गरेको एर्रेले २० ओभर खेल्दै सबै विकेट गुमाएर ९७ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । एर्रेका लागि रुपेश ठाकुर व्यक्तिगत २५ रन बनाउँदा ओपनर युवराज साहले २२ रनको योगदान गरे ।
९८ रनको लक्ष्य सहित प्रतिउतरमा ब्याटिङ्ग गर्न आएको मदर टेरेसाले १४ औं ओभरमा सबै विकेट गुमाउदै मात्र ५६ रन बनाउन सकेपछि एर्रेले ३१ रनको अन्तरले बाजी मारेको हो । मदर टेरेसाका लागि बिनम्र कुमार १२ रन जोडनु वाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकको रन जोडन सकेन ।
निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।