एसपी रिपोर्टर
जनकपुरधाम, असोज २९ :
जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. अमितकुमार यादव नियुक्त भएका छन् । त्यस्तै, अस्पतालको व्यवस्थापकको जिम्मेवारी नेत्र अधिकृत रुदलप्रसाद साहलाई दिइएको छ । डा. आशीष बोहराको स्थानमा डा. यादव र दिपेन्द्र सिंहको स्थानमा साहलाई राखिएको हो । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित यो अस्पतालको व्यवस्थापन समितिले असोज २८ गते गरेको निर्णयअनुसार डा. यादवलाई डाइरेक्टर र साहलाई कायममुकायम व्यवस्थापकको जिम्मेवारी दिएको समितिका संयोजक रघुबीर रायले जानकारी दिएका छन् । दुवै जनालाई नेपाल रेडक्रस सोसाइटीका आदर्श तथा सिद्धान्त र अस्पतालका प्रचलित नियम–विनियमअनुसार जिम्मेवारी निर्वाह गर्न नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पञ्कज महतोले आग्रह गरेका छन् । डा. यादव र साहको नियुक्तिसँगै अस्पतालको चिकित्सकीय सेवा र प्रशासनिक व्यवस्थापन थप प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय हुने पनि सभापति महतोले विश्वास गरेका छन् । यसअघि डा. यादव यो अस्पतालमा नेत्र चिकित्सकका रूपमा कार्यरत थिए भने साह नेत्र अधिकृत एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए । यो अस्पताल नेपाल रेडक्रस सोसाइटीको स्वामित्वमा रहेको स्वास्थ्य संस्था हो ।

