एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन संघ सरकारलाई दबाब दिने बताएका छन् ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले दशैँ, तिहार र छठ पर्वपछि प्रहरी समायोजनका लागि संघ सरकारसँग थप पहल गर्ने बताए ।
संविधानले प्रदेशलाई दिएको प्रहरीसम्बन्धी अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको उल्लेख गर्दै उनले हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले पनि यस विषयलाई प्राथमिकता दिएको बताए ।
मुख्यमन्त्री यादवले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद्का बेला उद्धार र राहतमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । नेपाल–भारत खुला सीमाका कारण हुने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियार तस्करी र मानव बेचबिखन नियन्त्रणमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न प्रदेशभर ‘अपरेसन साइबर अपराध नियन्त्रण’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो । मधेश प्रदेशभर उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले सम्मानपत्र प्रदान गरे । महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम भएका सप्तरीका कलाकार जुगेश्वर यादव र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका रौतहटको मौलापुरमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई पनि नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
समारोहको सुरुवातमा मुख्यमन्त्री यादवले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

