एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको छ। एमालेका चारै मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै एमालेले समर्थन फिर्ता लिएको हो। एमाले मधेश प्रदेश संसदीय दलले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलाई पत्र पठाउँदै असोज ३० गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको जानकारी गराएको छ।
तीन दलबीचको सहमतिअनुसार सरकार सञ्चालन हुन नसकेको, सुशासन र विकास निर्माणका कामले गति लिन नसकेको तथा जनहितका विषय प्रभावकारी रूपमा सम्बोधन नभएको एमालेको आरोप छ। पटकपटक ध्यानाकर्षण गराउँदा पनि समझदारी कार्यान्वयनमा ठोस प्रगति नभएपछि समर्थन फिर्ता लिनुपरेको एमालेले जनाएको छ।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदादेवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन्।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ। सरकारको निरन्तरता र आगामी सत्ता समीकरणबारे चासो बढेको छ। एमालेले उठाएका विषयमा प्रदेश सरकारको आधिकारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।

