एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
दसैँका बेला जनकपुरधामस्थित माता राजदेवी मन्दिर र राम मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सञ्चार सम्पर्क सहज बनाउन निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याइएको छ । महावीर युवा कमिटीको पहलमा डिश मिडिया नेटवर्क लिमिटेडले दुवै मन्दिर परिसर तथा आसपासमा वाइफाइ सेवा जडान गरेको हो ।
विजयादशमीका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन जनकपुरधाम आउने गर्छन् । मन्दिर परिसर तथा आसपासमा भक्तजनको भीड बढ्दा मोबाइल नेटवर्क व्यस्त भई सञ्चार सम्पर्कमा समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै भक्तजनलाई इन्टरनेटमार्फत आफन्तसँग सम्पर्क गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको हो ।
डिशहोमका जनकपुर जोन इन्चार्ज निरञ्जनकुमार साहका अनुसार दसैँका बेला मन्दिरमा आउने भक्तजनलाई सञ्चार सम्पर्कमा सहजता प्रदान गर्ने उद्देश्यले सेवा जडान गरिएको हो ।
त्यस्तै, दसैँ मेला व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी कार्यलाई सहज बनाउन महावीर युवा कमिटीको कार्यालयमा समेत उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको छ । यसबाट मेला व्यवस्थापन, स्वयंसेवक परिचालन तथा आवश्यक समन्वयका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दसैँ मेला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन कमिटीले सरोकारवाला पक्षसँग छलफलसमेत अघि बढाएको छ । सर्वपक्षीय छलफलका क्रममा कमिटीको नेतृत्वले मेला व्यवस्थापनका लागि आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । मेला अवधिमा श्रद्धालु भक्तजनको सुविधा, शान्ति सुरक्षा तथा भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
जनकपुरधामको दसैँ मेला धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण उत्सव हो । यस अवधिमा मन्दिर परिसरमा हुने भीडभाडलाई ध्यानमा राख्दै भक्तजनको सुविधाका लागि सञ्चार सेवा विस्तारसँगै मेला व्यवस्थापनका कामलाई समेत प्राथमिकता दिइएको छ ।