एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० :
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा दसैँको विशिष्ट धार्मिक परम्परा ‘बेलनौती’ विधि सम्पन्न गरिएको छ । जनकपुरधामस्थित राजदेवी मन्दिरमा देवीको पूजाअर्चनासँगै बाजागाजासहित बेलनौती विधि सम्पन्न गरिएको हो ।
मिथिला क्षेत्रमा दसैँका अवसरमा माटोबाट निर्माण गरिएका देवी दुर्गाका प्रतिमाको आँखा सप्तमी तिथिका दिन खोल्ने परम्परा छ । त्यसका लागि षष्ठी तिथिमा देवीको प्रतिमा राखिएको स्थानबाट बाजागाजासहित नजिकैको बेलको रुखसम्म पुगेर बेलको फलमा रातो वा पहेँलो रुमाल बाँध्दै वैदिक मन्त्रोच्चारणसहित देवीलाई निमन्त्रणा गर्ने गरिन्छ । यही धार्मिक विधिलाई ‘बेलनौती’ भनिन्छ ।
मैथिल परम्परामा ‘नौती’ को अर्थ निमन्त्रणा गर्नु हो । देवी दुर्गाको प्रतिमाको आँखा खोल्न बेलको फल प्रयोग गरिने भएकाले उक्त फललाई विधिपूर्वक निमन्त्रणा गर्ने धार्मिक मान्यताअनुसार बेलनौती परम्परा चल्दै आएको छ ।
मिथिलाञ्चलमा दसैँका अवसरमा मनाइने यस परम्पराले यहाँको मौलिक धार्मिक आस्था, संस्कृति र परम्परालाई प्रतिबिम्बित गर्छ ।