एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कपको दोस्रो दिनको दुई खेलहरुमा क्रमश चिल्ड्रेन होली पैलेस र ओम ईन्टरनेशनल स्कुल टिमले जितेको छ । बुधवारको पहिलो खेलमा चिल्ड्रेन होली पैलेश स्कुल टिमले सिद्वार्थ शिशु सदनलाई चार विकेटले पराजित गर्दै आफनो विजयी सुरुवात गरेको छ भने दोस्रो खेलमा मोर्डन अंग्रेजी स्कुललाई ओम ईन्टरनेशनल टिमले ५ विकेटले हराएको छ ।
बिहानको पहिलो खेलमा टस हारेर ब्याटिङ्ग गर्न मैदान उत्रेको सिद्वार्थ शिशु सदनले र्निधारित २० ओभर मध्ये १४ ओभरमै सबै विकेट गुमाएर मात्र ७० रनको योगफल तयार पार्न सक्यो । प्रतिउतरमा ब्याटिङ्ग गर्न आएका चिल्ड्रेन होलि पैलेशले १७ ओभरमा मात्र ६ विकेट गुमाउदै लक्ष्य पार गर्न सफल भएका छन् ।
दोस्रो खेलमा टस जितेर ओम ईन्टरनेशनलले फिल्ड रोजेपछि पहिलो ब्याटिङ्ग गरेका मोर्डन स्कुल टिमले १७ औं ओभरमा सबै विकेट गुमाउदै १ सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङ्ग गर्न मैदान उत्रेको ओम इन्टरनेशनलले अन्तिर ओभरमा पाँच विकेटको क्षतीमा लक्ष्य पुरा गर्न सफल भएपछि जित निकाल्न सफल भएको हो ।
निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।