श्री नारायण साह
जनकपुरधाम, मसिंर २६ :
वरिष्ठ पत्रकार, प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको सातौं दिनको खेलमा महोत्तरीको महादैया क्रिकेट टिम विजयी भएको छ ।

मंगलबार महोत्तरीको महदैया र धनुषाको ललिया क्रिकेट टिमबीच भएको खेलमा महँदैया क्रिकेट टिम ५० रनले जीत हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको महदैया क्रिकेट टिमले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पछयाउने क्रममा ललिया क्रिकेट टिम १ सय २० रनमै अल आउट भएपछि महदैया क्रिकेट टिमको जीत सहज भएको हो ।

उक्त खेलमा म्यान अफ दी म्याच माहदैया क्रिकेट टिमका दिपेशलाई घोषित गरिएको थियो । त्यसै गरि प्रतियोगिताको छैठौं दिन सोमवार भएको सौहर्वा र मधेपुरा टिम बिचको खेलमा सौहर्वा ६६ रनले जित निकाल्न सफल भएको थियो ।

दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ ।

उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।