श्रीनारायण साह
जनकपुरधाम, मंसिर २३ : वरिष्ठ पत्रकार, प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम विजयी भएको छ ।
शनिवार धनुषाको बेला र जनकपुरधाम ८ बलवा क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिम १ विकेटले जीत हासिल गरेको छ । बेलाले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछयाउने क्रममा बल्वा क्रिकेट टिम १ सय ४२ रनमै अल आउट भएपछि बेलाका जित दर्ज भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको बेला क्रिकेट टिमले खेलेको आक्रमक खेल दर्शकहरुका लागि आकर्षण बनेको थियो ।
उक्त खेलमा म्यान अफ दी म्याच बेला क्रिकेट टिमका जगदीश मुखियालाई घोषित गरिएको थियो । शनिवारनै धनुषाको कनकपट्टी र प्रको महुवा बीच भएको अर्को खेलमा कनकपट्टी क्रिकेट टिम ४२ रनले जीत हासिल गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कनकपट्टी क्रिकेट टिम सबै विकेट गुमाएर १०५ रनको योगफल तयार गरेको थियो । लक्ष्य सहित ब्याटिङ्ग गर्न मैदान उत्रेका प्रको महुवा क्रिकेट टिम मात्र ६३ रन बनाएर अल आउट भएपछि कनकपट्टीको सहज जित भएको हो । सो खेलको म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका सञ्जीवलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनुभयो ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।