एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १५ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा भएको धनुषा जिल्ला स्तरीय बुद्धीचाल प्रतियोगिताको उपाधीमाथी बिरेन्द्रकुमार महतोले जित हाशिल गरेका छन् । ७ राउण्डमा स्वीस मोडेलबाट भएको प्रतियोगितामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँदै महतोले जीत निकालेका हुन् । उनलाई नगद १० हजारको राशीसहित जिल्ला स्तरीय बुद्धीचाल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मैथिलीका बरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद विमलले पुरस्कृत गरे ।
त्यस्तै प्रतियोगितामा दोस्रो स्थान सुरेन्द्र भगतले ल्याए भने तेस्रो स्थान चन्दन शर्माले ल्याउन सफल भए । दोस्रो स्थान ल्याएका भगतलाई नगद ८ हजार र तेस्रो स्थान ल्याएका शर्मालाई नगद ५ हजार राशीबाट पुरस्कृत गरिएको छ । त्यस्तै चौथो स्थान सुनिलकुमार ठाकुर, पाँचौ स्थान सन्दिप यादव, छैठौँ स्थान राहुलकुमार गुप्ता, सातौँ स्थान इस्लाम राइन, आठौँ स्थान सुजितकुमार यादव, नवौँ स्थान अरविन्द प्रशान्त र दशौँ स्थान सूर्यनारायण दासले ल्याउन सफल भए ।
प्रतियोगितामा महिला सहभागीको रुपमा रहेकी खुश्वुकुमारी साहलाई सर्वोत्कृष्ट महिला सहभागीको रुपमा पुरस्कृत गरिएको थियो । त्यस्तै १० वर्षिय शिवम पूर्वेलाई उदयमान खेलाडीको रुपमा पुरस्कृत गरिएको थियो ।
वडा १०का वडाध्यक्ष मिथिलेश कर्णको अध्यक्षतामा भएको समापन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, साहित्यकार रोशन जनकपुरी लगायतको उपस्थिति रहेको थियो ।