एसपी रिपोर्टर

जनकपुरधाम, कार्तिक ११ :

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६मा आयोजना गरिएको वडा कपको उपाधीमाथी कपिलेश्वर टिमले कब्जा गरेको छ ।

१६ वटा टिमको सहभागितामा भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा ललिया क्रिकेट टिमलाई कपिलेश्वर टिमले ८ विकेटले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो । गत वर्षदेखि शुरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको ललिया क्रिकेट टिमले निर्धारित २० ओभरमा ७३ रनमै समेटिएको थियो ।

७४ रनको लक्ष्य सहित खेल मैदानमा उतरेको कपिलेश्वर क्रिकेट टिमले २ विकेटको क्षतिमा लक्ष्य पछ्याउन सफल भएको थियो ।

प्रतियोगितामा विजयी कपिलेश्वर टिमले ३१ हजार नगद, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता भएका ललिया क्रिकेट टिमले १५ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई नगद शिल्ड, कप तथा प्रमाणपत्र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह तथा उपप्रमुख किशोरी साहले प्रदान गरेका थिए ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै नगरप्रमुख साहले जनकपुरधाममा खेलको विकासका लागि गम्भिर रहेको बताए । उनले आउने दिनमा खेल क्षेत्रको विकासका लागि जनकपुरधाम भित्रै ५ वटा खेल मैदानको निर्माणका लागि उपमहानगरले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाध्यक्ष रामचन्द्र पजियारले खेल क्षेत्रको विकासका लागि वडास्तरबाटै पहल हुनुपर्नेमा जोड दिए । उनले यसका लागि आफू निरन्तर प्रयासरत रह्ने बताए ।