एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २६ :
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले दुई तिहाइ बहुमतको दम्भ देखाउँदै विधि र कानुनी शासनको उल्लंघन गर्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न हल्ला र धम्कीमार्फत त्रसित बनाउने प्रयास भइरहेको भन्दै त्यसबाट पार्टी नडराउने स्पष्ट पारे ।
जनकपुरधाममा नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न सक्ने भन्दै फैलाइएका हल्लाले पार्टीलाई कमजोर बनाउन नसक्ने बताए ।
उनले सरकारले विधिको शासन मिचेर अघि बढ्न खोजे कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै लोकतन्त्र र कानुनी शासनको रक्षाका लागि पार्टी निरन्तर संघर्षरत रहने बताए । साथै, कांग्रेस आफैँ पनि विधि र पद्धतिअनुसार सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

कांग्रेसको १५औँ महाधिवेशनबारे बोल्दै पौडेलले सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास सफल नभए पनि महाधिवेशन विधिसम्मत प्रक्रियाबाटै सम्पन्न भएको दाबी गरे । अब पार्टीलाई नयाँ ढंगले अघि बढाउँदै संगठनलाई थप व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
क्षेत्रीय सभापति विनय यादवको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता रामकृष्ण यादव, प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधामका नगरप्रमुख मनोज कुमार साह, पूर्वनगरप्रमुख बजरंग प्रसाद साहलगायतको उपस्थिति थियो ।