एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : जनकपुरधाममा सुरु भएको अन्तर कलेज क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा जनकपुरधामको मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी (मिट) टिमले जितेको छ । बुधवार धनुषा साइन्स कलेज क्रिकेट टिमलाई तीन विकेटले हराउँदै मिट विजयी भएको हो ।
टस जितेर मिटले पहिलो फिलडिङ्ग रोजेपछि धनुषा साइन्सका खेलाडीहरु निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएका थिए । धनुषा साइन्सको लागि उदय यादवले २९ बलमा २९ रन र अमरुल्लाह साहले १४ बलमा १६ रन बनाएका थिए । मिटका लागि राजा साहले तीन, तेजस मण्डल र शशिकान्त ठाकुरले २/२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङका लागि उत्रेका मिटका खेलाडीहरु सात विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मिटका लागि धिरज यादवले १९, शशि १५ र रोहित यादवले १४ रन बनाएका थिए । धनुषा साइन्सको तर्फबाट बलिङ गर्दा कृष्णा यादव र अमरुल्लाह साहले तीन/तीन विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच शशीकान्त ठाकुर घोषित भएका थिए ।
खेल बुधबारदेखि बाह्रविघा मैदानमा सुरु भएको छ । १६ वटा कलेजको टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइन्ल खेल चैत पहिलो सातामा गर्ने आयोजक संस्थाको तयारी छ ।
‘खेलाडीको संरक्षण गर्नुपर्छ’

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद जुली महतोले खेलाडीहरुको संरक्षण गर्नुपर्ने बताएकी छन् । खेलाडीमाथि सरकारको ध्यान नपुग्दा प्रतिभावान खेलाडी पलायन भएको उनले उल्लेख गरिन् । ‘खेल र खेलाडीमाथि राज्यको ध्यान नपुगेको महसुस भइरहेको छ,’उनले भनिन्,‘जसले गर्दा प्रतिभावान खेलाडीहरु पलायन भइरहेको छ ।’
खेल र खेलाडीको साथ रहने उनले प्रतिबद्धता गरिन् । प्रदेश सरकारले पाँच वर्षमा एउटा स्टेडियम पनि बनाउन नसक्नु दुखद रहेको उनको कथन छ । जनकपुरधाम उपमहानगरपालिका रजौल स्थित निर्माणाधिन रामजानकी रंगशालाको काम द्रुत गतिमा अगाडि बढाउन पहल गर्ने उनले बताइन् ।