एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि मधेश प्रदेशबाट २० खेलाडी छनौट भएका छन् । सप्तरीको राजविराजस्थित कभर्ड हलमा भएको मधेश प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट १० पुरुष र १० महिला राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चुनिएका हुन् ।
विभिन्न दश वटा तौल समुहमा छानिएका उनीहरूलाई प्रमाणपत्र तथा मेडल दिइएको छ । उनीहरूले पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । नेपाल भारत्तोलन संघका केन्द्रीय अध्यक्ष राम श्रेष्ठले भारत्तोलनमा मधेश प्रदेशको प्रदर्शन राम्रो भएको बताउनुभयो । उहाँले भारत्तोलन खेलको प्रचार प्रसार हुन नसकेको दुखेसो पनि पोख्नुभयो ।
यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता कात्तिक ४ गतेसम्म चल्ने छ । अहिले मधेशका विभिन्न स्थानमा प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगिता चलिरहेको छ ।