एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : जनकपुरधाम क्रिकेटको हव थियो । एक समय थियो जब क्रिकेट भन्ने वितिकै जनकपुरधाम बुझिन्थ्यो । तर हराउदै गएको क्रिकेट प्रतिको आर्कषण र विरासत र्फकाउन जनकपुरधामका युवाहरु अग्रसरता देखाएका छन् । सोहि क्रममा जनकपुरधाममा चैत २६ गतेदेखि ‘जनकपुरधाम टि–२० च्याम्पियनसिप’ क्रिकेट टुर्नामेन्टको आयोजना हुन लागेको छ । क्रिकेट खेलको सम्बद्र्धन एवम् प्रबद्र्धनका लागि तल्लो तहदेखि नै क्रिकेटलाई उकास्न तथा बढावा दिने उद्देश्यले धनुषा क्रिकेट संघले क्लब स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
टुर्नामेन्टमा कम्तीमा १६ वटा टिमलाई सहभागी गराउने लक्ष्य लिइएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोेभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी १६ मध्ये ११ वटा टिम नेपालको र ५ वटा टिम भारतको रहने बताए ।
पाण्डेले नक आउट लिगको आधारमा हुने यो प्रतियोगिता बैशाख ४ गतेसम्म चल्ने बताए । यसअघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिदैं आएपनि कोरोना संक्रमणको त्रासका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमहरुलाई शामिल गरेर जनकपुरधाममा फेरि खेलको माहौल बनाउन लागिएको उनले बताए ।
उनले भने,‘स्थानीय क्लवहरुलाई शामिल गरेर आयोजना गर्न लागिएको यस जनकपुरधाम टि–२० च्याम्पियनसिप प्रतियोगित सम्पन्न भए लगत्तै बृृहत स्तरको प्रतियोगिताको आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
प्रतियोगिताको पहिलो टिमलाई ५१ हजार राशीको पृुरस्कार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार, म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजकसमेत रहेका जिल्ला क्रिकेट संघ धनुषाका संयोजक सरोज मिश्रले बताए ।
उनले विगतदेखि नै आफूहरुले जनकपुरधाममा युवाहरुलाई खेलप्रतिको चासो जगाउन विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएपनि स्थानीय तथा प्रदेश सरकारले आफूहरुलाई कुनै प्रकारको सहयोग नगरेको गुनासोसमेत सुनाए । रंगभूमी मैदानमा ग्राउण्ड पनि नरहेको अवस्थामा रामजानकी स्टेडियमको निर्माणतर्फ चासो दिन उनले प्रदेश सरकारसँग आग्रह गरे । प्रदेश सरकारको वार्षिक करोडौं रकम फ्रिज भईरहेको अवस्थामा यहाँ स्टेडिम निर्माणका लागि कम्तिमा पनि बहुवर्षिय योजनामा रकम छुट्टयाईदिन उनले आग्रह गरे ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका सहसंयोजक प्रेमचन्द्र रायले खेलमैत्री वातावरण सिर्जना गर्न र स–साना क्रिकेट टिमहरुलाई बढावा दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । यस खेलको आयोजनामा करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।