एसपी रिपोर्टर
जनकपुरधाम, माघ २७ : धनुषाको हँसपुर नगरपालिकामा दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश नं. २ को नामांकरण “मधेश प्रदेश“ र राजधानी “जनकपुरधाम“ पारित भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा उजागरका लागि हंसपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सो प्रतियोगिता गर्न लागेको नगरपालिकाले जनाएको छ ।
माघ २९ गते शनिवार देखि फागुन ५ गते सम्म आयोजना हुने सो प्रतियोगीताको समुदघाटन लोसपाका वरिष्ठ नेता सरत सिंह भण्डारीले गर्ने भएको छ । सम्पूर्ण खेल नेपाल भलिबल संघको नियमानुसार खेलाईने प्रतियोगीतामा जिल्ला बाहिरका टिमहरुको लागि यातायात, वास तथा खानाको व्यवस्था आयोजकले नै गर्नेछ । प्रतियोगीताका प्रथम विजेताले नगद राशी रु. एक लाख ट्रफि, मेडल र प्रमाण पत्र र दोस्रो विजेताले नगद राशी रु. पचास हजार ट्रफि, मेडल र प्रमाण पत्र र त्यसैगरि तेस्रो विजेताले नगद रु. पचिस हजार ट्रफि, मेडल र प्रमाण पत्र जित्ने छ ।
हँसपुरका मेयर रामज्ञान मण्डलले भलिवल प्रतियोगीताले नगरपालिकामा खेल प्रतिको आकर्षण बढेर स्वस्थ्य समाज निर्माणमा टेवा पुग्ने बताएका छन् ।