एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ :
धनुषाको लक्ष्मिनिया गाउँपालिका–३ कंचनवनस्थित गजरिया विघी उपभोक्ता सिचाई आयोजनामा सिचाई दिवस २०८१ मनाइएको छ। मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयको आयोजनामा किसानहरूको सक्रिय सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–सचिव महेन्द्र यादव रहेका थिए। उनीसँगै प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेशसभा सदस्य कुमरकान्त झा, मन्त्रालयका सचिव रामकुमार खंग लगायत स्थानीय किसान तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सिचाई दिवसको मुख्य आकर्षण गजरिया नहरको मरम्मत तथा सम्भारको सांकेतिक उद्घाटन रह्यो, जहाँ प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कोदालो चलाउँदै नहर मर्मत कार्यको शुभारम्भ गरेका थिए। कार्यक्रममा बोल्दै पूर्व मन्त्री यादवले किसानहरूलाई आवश्यकताअनुसारको सिचाई सुनिश्चित गर्न प्रदेश सरकारसँग ठोस योजना माग गर्न आग्रह गरे। उनले बासमती चामलको अन्तर्राष्ट्रिय माग बढिरहेको उल्लेख गर्दै धनुषालाई बासमती चामल उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। प्रदेश मन्त्री शेष नारायण यादवले मधेश प्रदेशको समृद्धिको आधार कृषि भएकाले सिचाईलाई प्राथमिकतामा राखिएको बताए। उनले प्रदेश सरकारको सीमित बजेटबीच पनि साना आयोजना र नहर मर्मतको काम निरन्तर जारी रहेको जानकारी दिए। साथै, पानीको सतह घट्दै गइरहेकाले किसानहरूलाई जल संरक्षणप्रति सचेत रहन आग्रह गर्दै साना ड्याम तथा नहर मर्मतमा सक्रिय सहभागिता जनाउन अनुरोध गरे।
उनले केन्द्र सरकारको विभेदकारी नीतिका कारण मधेशका सिचाई आयोजनाहरू प्रभावित भएको र सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री यादवले दूधमति नदी उकास तथा विकास परियोजना सफल भए हजारौं किसानलाई सिचाईको समस्या समाधान हुने पनि बताए।
कार्यक्रम अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव खंग र प्रदेशसभा सदस्य झाले सिचाई क्षेत्रका समस्या तथा समाधानका प्रयासबारे धारणा राखेका थिए।