एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ९ :
चर्चित चिन्तक तथा राजनीतिज्ञ अब्राहम लिंकनको एउटा भनाईबाट पहिलो अनुच्छेद सुरु गरौं । वहाँ भन्नु हुन्छ, जनताको मतबाट प्राप्त शक्ति व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने साधन होइन । त्यो नागरिकको हितमा प्रयोग गर्नुपर्ने सार्वजनिक जिम्मेवारी पनि हो । अब त्यो जिम्मेवारी पुरा हुन्छ कसरी ? भन्ने आजको यो आलेखको मुख्य विषय र शीर्षक एकापसमा सम्बन्धित छ ।

यहाँ सन्दर्भ मधेश र रास्वपा को हो । हाल देशको चर्चित लोकप्रिय पार्टीको रुपमा उदाएको रास्वपा एक पार्टी मात्र होइन, परिवर्तन चाहने युवा जमात र अग्रजहरुको पनि आशाको केन्द्र हो भन्दा अनुचित नहोला । देशको मुड नै त्यस्तो छ भन्ने कुरा फागुन २१ को नतिजाले स्पष्ट हुन्छ र त्यो नतिजाको मुख्य आधार स्तम्भ हो ३२ मा ३१ सिट रास्वपालाई मनले दिने मधेश मत ।

यसको अर्थ सबैभन्दा बढी आशा पनि रास्वपासँग मधेशमै छ । बुवा विदेश गएर कमाइरहेको, देशमा अझै रोजगार नभएकाले आफुहरु पनि उतै जानु पर्ला कि ?, वैदेशिक रोजगारीबाट हुने घरेलु कोलाहल, गलत सम्बन्ध, हिंसा, हत्या मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य सबै खत्तम सहितका अनेकन पीडा मधेशको युवा मस्तिष्कमा छ । यो आक्रोश फागुन २१ मा निडरताका साथ मतपत्रमा पोखियो । मतदाता हुनेले मतका माध्यमले र मताधिकार नहुने युवा आफ्नै खर्चमा घण्टीका उम्मेदवार जिताउन खेलेको भूमिकाले क्लियर हुन्छ ।

वैदेशिक रोजगारको पैसाबाट किनिएको बाइक र आमासँग जबरजस्ती तेलको पैसा मागेर घण्टीको घरदैलो तथा सभामा जाने हजारौं युवाहरु हाल रास्वपालाई टोलाएर हेरिरहेका छन् । अधिकांशमा आफै पनि नेता बन्ने रहर नभएको होइन, यद्यपि शिक्षित किशोर, किशोरी र युवाहरु रास्वपा १० वर्ष चलोस भन्ने पक्षमा पनि छन् र त्यो पनि एक आशा नै हो, तर यो सम्भव हुन्छ कसरी ? भन्ने हो ।

हिजो आइतवार जनकपुरधाममा धनुषा ३ बाट निर्वाचित सांसद मनिष झाले शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै गर्दा भनेका थिए, ‘काठमाण्डौंमा हामिलाई प्रश्न गर्छ, मधेशले त देशै चलाउने गरी मत दिए र राम्रा नेता रास्वपाले कहिले दिने ? सुन्दा सांसद झाको यो कुरा सामान्य लाग्छ तर प्रश्न यक्ष नै हो । उपसभामुख सहित हालै संसदमा रहेको कमजोर मधेशी प्रतिनिधित्वको उपस्थिति र प्रभावकारिताबाट रास्वपाले पाठ सिक्न जरुरी छ। हिजो गरिएका सहयोगभन्दा पनि भोली पाउन सक्ने सार्थकता र पर्ने प्रभावको मूल्यांकन आवश्यक छ। मतलाई सम्मान गर्ने र सबल बनाउँदै सार्थक बनाउन सक्ने नेताको अभाव भए हरेक चुनावमा लहरमा बग्ने मधेश अर्को चुनावमा अर्को तिर नबग्ला भन्न सकिन्न ।

अहिले मेयर, उपमेयर र प्रदेशसभा सदस्य पदलाई एकदम सामान्य र टिकट मात्र पाए सम्भव हुने, जस्तै बनाइएको छ, त्यो पनि रास्वपाकर्मीहरुले नै । बाहिर वा अन्य पार्टीबाट आउनेलाई नमान्ने, फागुन २१ हाम्रो कारणले मात्र भएकाले सबै आफुहरुले नै पाउनु पर्ने जस्ता स्वार्थी मनसायले उत्साहित जमातको घेरामा रहेको रास्वपा मधेश प्रदेश र मधेशका जिल्लाहरुको नेतृत्व समेत वैधानिक रुपमा छान्न सकिरहेको छैन ।

मधेश सामान्य धर्ती होइन । संवेदनशील राजनीतिक धर्ती हो । यहाँ आफ्नै नेतृत्व छान्न त गाह्रो छ भने आम निर्वाचनको उम्मेदवार छान्न कति गाह्रो होला रास्वपालाई ? भन्ने कुरा दर्शाइरहेको छ । आगामी मेयर, उपमेयर र प्रदेशसभा प्रभावकारी बनाउन नसके रास्वपाको लागि भविष्य नराम्रो हुने पनि निश्चित छ । किनकी सेवा प्रवाह र आत्मीयताको हिसाबले जनताको नजिकको सरकार स्थानीय र प्रदेश नै हो, किनकी संघीय सरकारसँग त भेट्न र बोल्न पनि असम्भव जस्तै बुझिसकेका छन् मधेशका जनताले ।

उम्मेदवार छान्न क्यान्डिडेट क्लब छ त, भन्ने तर्क यहाँ आउन सक्छ, तर व्यावसायिक, विज्ञता र दक्षताका हिसाबले सार्थक व्यक्तित्वहरु चुनावको एक वर्ष अगाडि रास्वपाको क्लबमा गएर राजनीतिक विवादमा फस्न कति रुचाउँला ? भन्ने अर्को प्रश्न पनि छ यहाँ । र राम्रालाई नल्याएर पार्टी पनि चलाउन मुश्किल छ भन्ने अर्को यर्थार्थ पनि हो । वर्तमान पदमा बाहाल पालिका प्रमुखहरु पनि रास्वपा रोज्ने मुडमा नभएका होइनन्, तर के उनका लागि अहिलेनै क्यान्डिेट क्लब सुहाउँदो हुन्छ त ?

स्थानीय र प्रादेशिक निर्वाचनमा विपक्षी दल, नयाँ दल पनि मधेशकै भूमिलाई प्रयोगशाला बनाउने परम्परागत रणनीतिलाई अजरअन्दाज नगरी अहिले जुन केही नसोच्ने, बोलिहाल्ने, रिसाई हाल्ने जोशिला जमात रास्वपासँग छ र तिन बिचका आकांक्षी पनि छन्, टिकट पछि पाएका र नपाउने दुवै तप्काहरुलाई व्यवस्थित गरिरहने चुनौती रास्वपासँग छ । मधेशबाट जितेका तर संसदीय अभ्यासमा शून्य सांसदहरुलाई दक्ष बनाउने देखि लोकतन्त्रको निर्णायक मन्दिर संसदलाई प्रभावकारी बनाउने सम्मको गम्भीर चुनौती पनि रास्वपासँगै छ ।

प्रसंगको अन्त्यमा चर्चित चिन्तक म्याक्स वेबरले भनेको तर्क, ‘अप्रत्याशित सफलतापछि नेताले लोकप्रियताको उत्साहमा मात्र होइन, निर्णयका सम्भावित परिणाम बुझेर काम गर्नुपर्छ । गलत निर्णयको जिम्मेवारी लिन सक्नु पनि नेतृत्वको हिस्सा हो ।’ भन्नेलाई रास्वपाले आत्मसात् गर्नुपर्ने देखिन्छ । सफलता र अवसरलाई सार्थक बनाउन सके मात्र व्यवहारिक रुपमा पनि चल्ने देश नेपालमा स्थायित्व सम्भव छ ।