एसपी रिपोर्टर

जनकपुरधाम, कार्तिक ७ : नेकपा एमालेले कांग्रेस नेतृत्वको वर्तमान मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेशको नेतृत्व पुनः जसपा नेपालले पाउने चर्चा मधेशमा चुलिएको छ। संघीयता पछि बनेको प्रादेशिक संरचनाको ऐतिहासिक पहिलो कार्यकालको पुरै पाँच वर्ष नेतृत्व गरेको तत्कालीन फोरम र हालको जसपाको सामुने पुनः मधेशको नेतृत्वको अवसर आएको छ।

जसपा नेतृत्वले सरकार बनाउने वा भत्काउनेमा आफूहरू नलाग्ने बताए पनि संविधान अनुसार लोसपासँगको एकतापछि मधेशको ठुलो दल बनेको जसपा परिआएको खण्डमा प्रदेश सरकारको नेतृत्वबाट भाग्न पाउने छैन। त्यस्तो परिस्थिति आए, मुख्यमन्त्री को? भन्ने विषय भने जसपाका लागि चुनौतीपूर्ण हुन्छ। जसपाको संसदीय दलको नेताको हैसियतमा सरोज यादवको दोस्रो पटक मुख्यमन्त्रीको दाबेदारी देखिने छ भने लोसपासँगको एकतामा भूमिका खेलेका र मुख्यमन्त्री बनेर पनि आन्दोलन गर्दागर्दै चलाउन नपाएर केही सप्ताहमै मुख्यमन्त्रीबाट बाहिरिएका जितेन्द्र सोनलको पक्षमा पनि सांसदहरू देखिन्छन्।

हुनत त्यो निर्णय उपेन्द्र जी र महन्त जीले गर्नुहुनेछ, यद्यपि अध्यक्ष उपेन्द्र यादव जीको बाराको उपनिर्वाचन जिताउन देखि एकतासम्म राम्रो भूमिका खेलेको सोनलको विपक्षमा पनि अध्यक्ष यादवलाई जान गाह्रो हुन्छ नै, नाम नबताउने सर्तमा एक सांसदले बताए। मधेशको पहिलो सरकारमा मुख्यमन्त्री लालबाबु राउत मन्त्री परिषद्मा दोस्रो वरीयतामा रहेर भौतिक पूर्वाधार विकास मन्त्रालय कुशलतापूर्वक हाँकेर सरकार सफल बनाउन भूमिका निर्वाह गरेकाले पनि जसपाका हालका सांसदहरू केही महिना मात्र कार्यकाल बाँकी रहेको अवस्थामा सोनललाई नै सरकार चलाउने अवसर दिएर सम्मान गर्नुपर्ने तर्क गर्न थालेका छन्।

परिवेश र परिस्थितिले पनि दबाब

जसपा अहिले एक अग्रगामी मोर्चामा पनि नेतृत्वकर्ताकै रूपमा रहेका छन्, जहाँ विभिन्न क्लस्टरका नेतृत्वकर्ताहरूको अगुवाई छ। सबैको निशानामा हालका लोकप्रिय दल रास्वपा रहेको र रास्वपाले हदसम्म जातीय बहुल्यतालाई निष्तेज गर्ने काम गरेकाले पनि जसपाले मुख्यमन्त्री छान्दा मोर्चाबाट पनि सोही अनुसार दबाब आउन सक्ने माहोल छ।

एक त अहिले सरकार बनाउने पक्षमै मोर्चा नरहेको जस्तो माहोल र अभिव्यक्तिहरु आइरहेको भएपनि परिस्थिति आइपरे विवाद र आरोप बाहिरको निर्णय गर्नुपर्ने सुझाव जसपालाई आउने स्थिति छ। मुख्यमन्त्रीमा संसदीय दलको नेता हुनुपर्ने मान्यताका कारण सरोज यादवको स्वाभाविक र प्रबल सम्भावना रहे पनि संसदीय दलको नेतालाई बाहिर राखेर जनमत पार्टीले सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाइसकेको नजिर र नजिर राख्ने पार्टी पनि मोर्चामै हाल सहभागी रहेकाले पनि सोनलको दाबी पनि अस्वाभाविक नरहने कतिपयको तर्क छ।

२०७९ सालको निर्वाचनपछि बनेका पाँच मुख्यमन्त्रीमध्ये सुरुवातमै त्यसअघि राजपाबाट सिफारिस हुँदै पाँच वर्ष पुरै सभामुख समेत चलाएका सरोज यादव जसपाबाट मुख्यमन्त्री बन्न सफल भई एक वर्ष ४ महिना २५ दिन मुख्यमन्त्रीमा बहाल रहे भने मधेशको पाँचौँ मुख्यमन्त्रीको रूपमा २०८२ असोज २९ गते नियुक्त भएका तत्कालीन लोसपाका सोनल मात्र २४ दिन मुख्यमन्त्रीमा बहाल रहेको र एमालेबाट नियुक्त मुख्यमन्त्रीको नियुक्ती प्रक्रिया विरुद्वकै आन्दोलनमा उनको सो २४ दिन वितेको थियो । हाल मधेश प्रदेशसभा सदस्यहरूमा अनुभवी र कुशल राजनीतिज्ञमा समेत गनिने सोनललाई सरकार चलाउन मौका दिनुपर्ने तर्क उठ्दै आएको छ ।