एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १० :
जनकपुरधाममा पर्यटकलाई सहज र सुलभ आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नवरंग आवासीय होटल एवं रेस्टुरेन्ट सञ्चालनमा आएको छ। जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा नवनिर्मित होटलको शुभारम्भ गरिएको हो।
होटलमा ३५ वटा वातानुकूलित (एसी) कोठा तथा एक सय जनासम्म अटाउने क्षमताको सेमिनार हलको सुविधा रहेको सञ्चालक प्रकाश भगतले जानकारी दिए। होटलमा आवासीय सुविधाका साथै विभिन्न कार्यक्रम, बैठक तथा गोष्ठी आयोजना गर्न सकिने उनले बताए।
जनकपुरधामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक भगतले बताए। धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित जनकपुरधाममा आउने पर्यटकलाई लक्षित गरी अन्य होटलको तुलनामा ५० प्रतिशत छुटमा कोठा उपलब्ध गराइने उनले जानकारी दिए।
जनकपुरधाममा धार्मिक पर्यटनसँगै विभिन्न कामले आउने आगन्तुकको संख्या बढ्दै गएको अवस्थामा सुलभ दरमा आवासीय सेवा उपलब्ध गराउँदा यहाँको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
होटलको शुभारम्भका अवसरमा सोमबार पूजा तथा गृहप्रवेश कार्यक्रम आयोजना गरिएको थियो। त्यसैगरी, मंगलबार सत्यनारायण भगवान्को पूजा तथा हनुमान आराधना गरिएको थियो।