एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :
मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको अवस्था चिन्ताजनक रहेको बताएका छन्।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले जनचेतनाको अभाव र गलत बानीकै कारण समस्या जटिल बनेको बताए।
मन्त्री यादवका अनुसार धेरै घरमा चर्पी भए पनि खुला स्थानमा शौच गर्ने बानी हट्न सकेको छैन। उनले स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै जनचेतना फैलाउने र गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए।
साथै, उनले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धी कानून ल्याउन प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी गराए। बागमती प्रदेश खानेपानी विभागका सचिव मोहन शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चार प्रदेशका ३२ जना प्रशिक्षार्थी सहभागी थिए।