एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले देशलाई बर्बादीतर्फ धकेलिरहेको भन्दै यसको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
राप्रपाले जनकपुरधाममा आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष लिङ्देनले देशलाई बर्बादीबाट जोगाउन राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नै नेपालका लागि उत्तम समाधान हुने बताए। साथै, उनले संसदमा पूर्ण समानुपातिक प्रणाली लागू गर्दै सांसदहरूलाई मन्त्री नबनाउने व्यवस्थाले भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गरे।
लिङ्देनले मुलुकमा महँगी अकाशिएको, भ्रष्टाचार चरम सीमा पुगेको भन्दै राजतन्त्रसहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संघीयता हटाए भ्रष्ट्राचार स्वतः समाप्त हुने दाबी गरे।
उनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलहरूलाई नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप लगाउँदै भने, “जनकपुरधाम हिन्दू धर्मावलम्बीका लागि पवित्र भूमि हो। यहाँका स्थानीयको हिन्दू धर्मप्रति गहिरो आस्था छ, तर यही मत लिएर राजनीतिक दलहरू तपाईंकै धर्मविरुद्ध लागिरहेका छन्।”
अध्यक्ष लिङ्देनले मधेसका जनताले पहिले संघीयतालाई सबै समस्याको समाधान ठाने पनि अहिले त्यसको वास्तविकता बुझेको बताए। संघीयता मुलुकको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपालीहरूबीच विभाजनको बीउ रोप्ने अस्त्र मात्र भएको उनको आरोप छ।
राप्रपाले नेपालमा हिन्दू राष्ट्र, राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र भ्रष्टाचारमुक्त शासन प्रणाली आवश्यक रहेको भन्दै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ।