एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ :
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सीमा बुझ्न चेतावनी दिएका छन्। पछिल्लो समय पूर्वराजा र राजावादीहरूको सक्रियता बढेको भन्दै उनले नेपालमा अब राजतन्त्र फर्किन नसक्ने दाबी गरे।
शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्रको जग बलियो रहेको उल्लेख गरे। ‘नेपालमा राजतन्त्र र राणाशाही फर्किन सम्भव छैन,’ उनले भने, ‘राजा अपदस्त मात्र होइन, अस्वीकृत भइसकेका छन्।’ उनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकै जिल्लाबाट गणतन्त्र आएको स्मरण गराउँदै यसको स्थायित्वबारे बलियो अडान व्यक्त गरे।
निधिले तत्कालीन राजाहरूमा पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने बताए। ‘नेपालको एकीकरण पृथ्वीनारायण शाहकै नेतृत्वमा भएको हो, त्यसैले उनलाई सम्मान गरिन्छ,’ उनले भने, ‘तर, पछि राजा र प्रधानमन्त्रीहरूमा शक्ति मोह बढ्दै गयो।’