एसपी रिपोर्टर
जनकपुरधाम, फाल्गुन १ : धनुषाको मिथिला नगरपालिकामा पर्ने औरही नदीमा भइरहेको अवैध उत्खननको अनुगमन र निरिक्षण पछि तत्कालै त्यहाँ सञ्चालित पाँचवटा क्रसरहरुको विद्युत सेवा वन्द गरिएको छ । कांग्रेसबाट निर्वाचित मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आईई रिपोर्टलाई आधार मानेर उत्खनन गर्ने गरि करिव डेढ महिना अगाडि ठेक्का लगाएको र खोला उत्खननबाट हुने आम्दानी देखेर घरै पिछे ट्रयाक्टर किनेर राखेका खोला छेउका करिव पाँच गाँउका स्थानिय किसानहरुको पक्षमा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु उभिएपछि यहाँ विवाद उत्पनन्न भएको देखिन्छ ।
विवाद पछि खोलाको स्थलगत निरिक्षण र अवलोकनका लागि धनुषाका जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलको अगुवाईमा पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु सहितको टोली स्थलगत निरिक्षण र अवलोकन गर्दै मिथिला नगरपालिकाको वडां नं. २ र ३ मा पर्ने नदी क्षेत्रमा सञ्चालित क्रसरहरुले स्टोर प्रमाणीत र राजश्वको प्रक्रिया पुरा नगरुन्जेल सम्मका लागि विद्यतु सेवा बन्द गर्न निर्देशन दिदै शुक्रवार जिससको सभाहलमा छलफलका लागि सबैलाई बोलाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले बताए ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आईईई रिपोर्ट कार्यपालिकाबाट पास भएर ठेक्का प्रक्रियामा गएकाले सबैले मान्नु पर्ने तर्क गरिरहेको छ भन्ने वडा अध्यक्षहरुले आईई रिर्पोट भन्दा पहिला स्थानियसंग भएको सार्वजानिक सुनुवाईमा भएका सहमति नसमेटिएको तर्क गरिरहेका छन् । क्रसर व्यवसायीहरु पार्टीगत राजनीति र खिचातानीका कारण आफुहरु समस्यामा परेको बताउछन् । विहिवार देखि काम बन्द हुने गरि पाँच क्रसर उद्योगका विद्युत सेवा बन्द गरिएको क्रसर व्यवसायी संघ धनुषाका अध्यक्ष शशि यादवले बताए । उनले आफुहरु स्टोर प्रमाणित र राजश्व दाखिला गर्न तयार रहेपनि दुई पक्षको लफडाको कारण यस्तो भएको बताए ।
खोला छेउका साविकका गाउँहरु हरिहरपुर, श्रीपुर, लालभिटी, नक्टाझिज र विश्रामपुरमा करिव २ सय ५० भन्दा बढि ट्रयाक्टर किसानहरुले राखेको र उत्खनन तथा ढुवानीमै प्रयोग गर्ने गरेको आरोप एक पक्षको छ । आईईई रिपोर्टमा खोलाको मापन गरिएको चौडाईको तिन भाग बराबरको क्षेत्र फल दुईवटै किनाराबाट छोडेर सोहि बराबरको बिच भागमा मात्र ३ फिट गहिरो खन्न पाउनुपर्ने प्रावधान छ । तर खोलालाई अवैध र अनियन्त्रित तरिकाले धमाधम उत्खनन गरेको देखिन्छ ।

उत्खननको ठेक्का लाग्ने सुनेपछि ट्रयाक्टर व्यवसायीहरुले धमाधम उत्खनन गरेर रातारात गिट्टिबालुवा भण्डारण गरेका यत्रतत्र थुपारे राखेका छन् । उत्खननको ठेक्का पाएका लालगढका ईश्वरी श्रेष्ठले खोलामा मेसिन ल्याएको ४ दिन वितेपनि खन्न नपाएपछि विवाद सुरु भएको हो । अनुगमनका क्रममा वडा नं. ३ का वडा अध्यक्ष रामएकवाल महतो आईईई रिपोर्टमा सार्वजानिक सुनुवाईका समहती पालना पनि गर्नुपर्ने तर्क गरिरहेका छन् ।
यि उत्खनन गरिएका तिनै खोला हुन जस्को उत्खनन विरुद्व बोल्न जाँदा खोलामै ट्रिपरले किचेर अभियानी दिलिप महतोको हत्या गरिएको थियो तर पनि खोलाको अवैध उत्खनन रोकिएको छैन ।