सोनु साह
जनकपुरधाम, माघ २४ : नेपाल पत्रकार महासंघ धनुषाको अगुवाई र मधेश प्रदेश समितिको पहलमा बुधवार गठन भएको संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन बारे सभामुखलाई विधिवत जानकारी गराइएको छ ।
महासंघ धनुषाका अध्यक्ष पुरन साह सहित नवगठित समाजका अध्यक्ष विरेन्द्र रमण, पदाधिकारी र सदस्यहरुको टोली प्रदेशसभा पुगेर सभामुख रामचन्द्र मण्डलाई समाजको गठन बारे जानकारी गराएको हो । समाजको सचिवमा चयन भएका विकास कुमार साहले महासंघ धनुषाका अध्यक्ष पुरन साहको अगुवाईमा बुधवार महासंघ धनुषाको शास्त्री सभाहलमा भएको समाजको गठन सहितको विवरण पत्र पढेर सुनाएपछि सभामुखलाई सो जानकारी पत्र हस्तान्तरण समेत गरिएको छ ।
सभामुख मण्डलले पत्रकार महासंघ धनुषाले पत्रकारिता र प्रदेशसभा बिचको समन्वय र समग्र हितका लागि लिएको पहलकदमीको प्रशंसा गरेका छन् ।

सभामुख मण्डल, प्रदेशसभाका सचिव बासु कोइराला, प्रवक्ता विपिन ठाकुर सहितकाले पनि यस कार्यले पत्रकार र प्रदेशसभा दुवैको भलाई हुने भएकाले लामो समय सम्म रहेको बाधा फुकाइएकोमो खुसी व्यक्त गरे । सभामुख मण्डलले तत्कालै समाजका लागि छुटयाइएको कार्यालय कोठाको अवलोकन समेत गराउदै आपसी समझदारीमा अगाडि बढने आश्वासन दिएका छन् ।
यस अघि २०७४ साल तिर समन्वयको अभावमा नेपाल पत्रकार महासंघकी तत्कालिन उपाध्यक्ष मनिका झा र कान्तिपुरका मधेश ब्युरो प्रमुख अजित तिवारीको नेतृत्वका अलग अलग समिति (समाज र मञ्च) बन्दा राम्रो काम गर्न नसकेर ओझेलमा परेको थियो । दुईवटा टिम बन्दा प्रदेशसभा र तत्कालिन सभामुखहरु कस्लाई आधिकारिक मान्ने ? अन्यौलमा पर्दा समस्या भएको थियो ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षता र अगुवाई, तत्कालिन दुवै समितिका अध्यक्षहरु झा र तिवारी समेतको उपस्थितीमा सम्पन्न भएको पत्रकारहरुको भेलामा छलफल र परामर्शपछि विरेन्द्र रमणको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको थियो ।

कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने महासंघ मधेश प्रदेशका सचिव हदिश खुद्दारलाई उपाध्यक्षको रूपमा चयन गरिएको छ । सचिव पदमा विकास कुमार साह चयन भएका छन् भने सह–सचिवको जिम्मेवारी कमलेश कुमार ठाकुरले सम्हाल्ने भएका छन् । कोषाध्यक्षको पदमा लक्ष्मी चौधरी चयन भएकी छन् ।
अन्य सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ । त्यसै गरि भेलाबाट सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, निवर्तमान अध्यक्ष मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् ।