एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता, सुरेन्द्रकुमार महतोले मुलुक अझै एकात्मक शासन व्यवस्थाबाट माथि उठ्न नसकेको भन्दै आलोचना गरेका छन्। उनले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुले संघीयता स्वीकारे पनि, तिनीहरू एकात्मक शासन व्यवस्थाको मनोभावबाट मुलुक चलाइरहेको आरोप लगाए।
महतोले मधेश आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दावी गरे र संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न आवश्यक रहेको बताए। उनले संघीय सरकारलाई प्रदेश सरकारलाई नियतवश अधिकार हस्तान्तरण नगरेको आरोप पनि लगाए।
उनका अनुसार, संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेशमातहत राख्ने व्यवस्था गरेको भए पनि यसको कार्यान्वयनमा समस्या आइरहेको छ। प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताएका महतोले संघीयता सफल बनाउन प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने आवश्यकता उल्लेख गरे।
उनले भन्नुभयो, “मधेश मात्र होइन, सातवटै प्रदेशले एकस्वरमा आवाज उठाइरहेका छन् कि संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले प्रदेशलाई उचित अधिकार हस्तान्तरण गर्नुपर्छ।”