एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ : जनकपुरधामको जानकी चौक स्थित श्री जानकी युवा कमिटि सहित स्थानिय युवाहरुले प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना गर्ने खिचडी भोजमा यस वर्ष भब्यता देखिएको छ । तराई मधेशमा तिला सकराईत भनेर मनाइने माघ १ का दिन जानकी चौक स्थित अरगज्जा पोखरीको किनारामा प्रत्येक वर्ष आयोजना गरिने खिचडी भोजमा यस वर्ष पनि नागरिक अगुवा, जनकपुरधाममा युवाहरु, पुर्व मेयर लाल किशोर साह सहित विभिन्न राजनितिक दलका नेताहरु समेत पुगे ।
युवाहरुले बाजे पुरखाले बसाएको परम्परा बचाउन खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै जानकी युवा कमिटि र स्थानिय युवा आयोजकलाई सहभागिहरुले धन्यवाद दिए । विभिन्न क्षेत्रका अगुवाहरु समेत पुगेर खिचडी, घिउ, चटनी, पापड, तिलको लाई, दही सहितका परिकार ग्रहण गरे । चिसोयाममा शरिरमा तापक्रम बढाई न्यायो प्रदान गर्ने बाजे पुरखाले माघ १ गतेका दिन खाने परम्परा बसाएकाले आफुहरु सो परम्परा र संस्कृती बचाउन निरन्तर १२ वर्ष देखि यो भोज गर्दै आएको जानकीचौकका युवा अगुवा शुसिल कर्णले बताए ।
खिचडी, घिउ, पापड र तिलको चटनी सहितका परिकार खानाले जाडोमा शरिर न्यानो रहने भएकाले बाजे पुरखाहरुले चलाएको यो परम्परा आजको मांशहारी युवा जमात भुल्न नहुने भन्दै आफुहरु कार्यक्रम निरन्तर गर्ने गरेको युवा अगुवा तथा खेलाडी विरेन्द्र कर्ण (गुरु) ले बताए । वडा अध्यक्ष मिथिलेश कर्ण पनि मासु र दारुमा मात्र युवाहरु रमिने अहिलेको समाजमा यहाँका युवाहरुको गरेको काम सराहनिय रहेको बताए ।