एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २१ : विवाहपञ्चमी महामहोत्सवमा त्रेताकालिन जस्तै भगवान श्री सीतारामको विवाह आयोजन हुन्छ तर जनकपुरधामवासी यस विवाहलाई आफनै छोराछोरीको विवाह सरह मनाउँछन अनि त जनकपुरधाम आउने कुनै पनि दर्शनालुहरुलाई खाने बस्ने अभाव हुदैन ।
विवाहपञ्चमीमा भगवान रामजानकीको विवाह हुने भएपनि जनकपुरधामवासी सवै आफनै घरमा वैवाहिक कार्यक्रम भए जसरी नै सक्रिय हुन्छन् । जनकपुरधामको रामचौकमा क्लोथ बैंक नेपाल धनुषा तथा नेपाल भारत खुल्ला सीमा संवाद समुहले स्वास्थ्य उपचार सेवा, पानी र सुत्ने व्यवस्था गरेको छ भने, रौनियार सेवासमितिले हजारौं भक्तजनलाई नास्ता र पानी खुवाएको छ ।
जय सियाराम सेवा समितिका युवाहरुले त बस्ने, खाने नास्ता र खाना, उपचार देखि वाईफाई सम्मको व्यवस्था गरेर सेवा गरिरहेको देखियो । कतै पुरी तरकारी जेरी त कतै भुजा छोला त कतै अनेकन पकवान जस्का लागि पनि जनकपुरधाममा निशुल्क भेटिन्छ । यसरी घर घरबाट स्वस्फुर्त रुपमा स्थानिय संघसंस्था, युवा कमिटिका साथै स्थानियहरु जनकपुरधाम आएका दर्शनालु भक्तजनलाई आफनै घरमा आएका पाहुना सरह भ्याए सम्म स्वागत सत्कार गर्ने गरेका छन् ।
जनकपुरधाम आएका आगन्तुकलाई आवश्यक परेका बेला कुनै पनि घरमा शौचालय प्रयोग गर्न सकिने, जनकपुरवासी नागरिक र पसलेले मिठो भाष र व्यवहार प्रदर्शन गर्नुपर्ने आह्वान स्थानिय र प्रदेश सरकारको छ । विवाह पञ्चमी महोत्सव जनकपुरधामको हरेक नागरिकको सामुहिक आयोजन जस्तो देखिन्छ ।
जनकपुरधामको तेली कल्याण समाज, रामजानकी सुडी कुट्टी, कलवार कुट्टी, लायन्स क्लवका विभिन्न शाखाहरु सहितकाले भक्तजनको सेवाका लागि आफना स्टल चलाएका छन् ।