एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । नगरभित्र दर्ताबिना सञ्चालनमा रहेका करिव एक दर्जन निजी विद्यालय बन्द हुनुपर्ने माग गर्दै एनप्याब्सन अदालत पुगेको हो ।
एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले दर्ताबिना सञ्चालनमा रहेका विद्यालयहरु बन्द हुनुपर्ने आफूहरुको माग रहेकोमा उपमहानगर त्यसमा तयार नभएकोले अन्त्यमा बाध्य भएर अदालतको सहारा लिनुपरेको बताए । एनप्याब्सनले उपमहानगरबिरुद्ध उच्च अदालत जनकपुरमा परमादेश मुद्दा दर्ता गराएकोे हो ।
उपमहानगरपालिकाले गतवर्ष नगरभित्र सञ्चालित निजी विद्यालयहरुको अनुगमन गर्दा ११ भन्दा बढी विद्यालयहरु दर्ताबिना सञ्चालनमा रहेको पाइएको थियो । केही विद्यालयहरुको कागजात चुस्त देखिएको थिएन । उपमहानगरले चेतावनी दिएपनि ति विद्यालयहरुलाई बन्द गराउन पछि कुनै पहल नदेखाएपछि एनप्याब्सनले यस्तो कदम चालेको अध्यक्ष ठाकुरले बताए ।
एनप्याब्सनको परमादेश मुद्दामा उच्च अदालत जनकपुरधामले कारण देखाउ आदेश जारी गर्दै अनुगमनको कागजातसहित १५ दिनभित्र उपस्थित हुन उपमहानगरलाई भनेको छ । दर्ताबिना सञ्चालनमा रहेका विद्यालयहरु बन्द हुनुपर्ने प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरुले माग गर्दै आइरहेका थिए ।