एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : नेपाल सरकारका संघिय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले जनकपुरधाम सहित देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्न सके अन्तराष्ट्रिय स्तरको क्रिकेट खेलहरु नेपालमै हुने प्रतिवद्वता आईसीसीले गरेको बताएका छन् ।
जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री राम जानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि २० क्रिकेटको रोचक प्रतिस्पर्धात्मक फाइनल खेल पुरै अवलोकन गरेका मन्त्री श्रेष्ठले आईसीसीका अन्तराष्ट्रिय अध्यक्षसंग नेपाल आएर यस्तो प्रतिवद्वता जाहेर गरेको बताए ।
उनले धनुषा र बाराको खेल कुनै पनि अन्तराष्ट्रिय स्तरको क्रिकेट भन्दा अलिकति पनि कम नरहेको भन्दै खेलकुदलाई व्यवसायीकरण गर्दै अव डाक्टर, ईन्जिनियर बन्नु भन्दा पनि क्रिकेटर बन्नु भन्ने आर्शिवाद दिने युग ल्याउनुपर्ने बताए । खेल ऐन परिमार्जन गर्न लागेको जानकारी गराउदै मन्त्री श्रेष्ठले त्यसमा के कस्तो सुझाव छ लिखित रुपमा ल्याउन क्यानलाई आग्रह गरेका छन् ।
बिश्व विद्यालयहरुसंग एमओयु हुन लागेको जानकारी गराउदै उनले बिकासलाई पुर्नब्याख्या गरिनु पर्ने र निजी क्षेत्रले स्वामित्व नलिए सम्म खेलकुदको बिकास हुन नसक्ने पनि बताए । उनले खेलकुदका वडा स्तरका गतिविधीहरुलाई पनि महत्वका साथ प्रयोजन गर्न व्यापार जगत, उद्योग बाणिज्य संघ र चेम्वर अफ कर्मश सहितका संघ संस्थाहरुलाई आग्रह गरेका छन् ।
सो अवसरमा मधेश प्रदेशकी खेलकुद मन्त्री सुरिता साह, प्रतिनिधीसभा सदस्य मनिष झा र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह सहितकाले खेलकुद क्षेत्रको विकास बारे आ आफनो धारणा राखेका थिए ।