एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ : जनकपुरधाममा जारी दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा साविककै विजेता र उपविजेता टिमबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको दुई सेमिफाइनल खेलमा घरेलु टिम धनुषा र बारा विजयी भई फाइनलको यात्रा तय गरेको हो ।
प्रथम मेयर कपको उपाधि धनुषा उचालेका थिए भने बारा उपविजेता भएका थिए । शुक्रबार पहिलो सेमिफाइनल खेलमा धनुषाले पर्सालाई पाँच रनले पराजित गरेर फाइनलको लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने बाराले सर्लाहीलाई ४४ रनले पराजित गरेर फाइनलमा पुगेको हो ।
धनुषा टिम टस जितेर सुरुमा ब्याटिङ गरेका थिए । निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पर्सा समक्ष मात्र ९८ रनको लक्ष्य प्रस्तुत गरेका थिए । खराब सुरुवात गरेका धनुषाका लागि अन्तिम विकेटको रुपमा आएका साइमोन रायले सार्वधिक १५ बलमा २०, पशुराम यादव १५ र विक्रान्त यादवले १२ रन बनाएका थिए । यी बाहेक धनुषाका कुनै पनि ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनुषाका अनुभवी खेलाडी हरिशंकर साह, हिमाशु दत्त, विशाल शुशलिङ र म्यान यादवले पनि ब्याटिङमा राम्रो प्रर्दशन गर्न सकेनन् ।
पर्साका लागि बलिङ गरेका सम्साद मन्सुरी र नसरुदिन अन्सारीले तीन÷तीन विकेट लिए । ‘लो स्कोर’ पाएका पर्साका खेलाडीहरु जवाफी ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर मात्र ९२ रन बनाउन सके । पर्सा टिमले दुई विकेट शुन्य रनमै गुमाएका थिए । पर्साका लागि रञ्जन यादवले सर्वाधिक ३९ बलमा नटआउट ३७, सोनु शर्मा २५ रन बनाएका थिए । धनुषाका लागि बलिङ गरेका रुपेश यादव तीन, विशाल शुशलिङ दुई र विक्रान्त यादवले पनि दुई विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका विशाल शुशलिङ घोषित भएका थिए ।
यस्तै, शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाही टिम टस जितेर बारालाई ब्याटिङको लागि आमन्त्रण गरेका थिए । बारा टिम निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४१ रनको लक्ष्य सर्लाही समक्ष प्रस्तुत गरेका थिए । बाराका लागि अरनिको यादव सार्वधिक ३३ बलमा ४९ रन, शाहिल पटेल १७ र निकेश गुप्ताले नटआउट १६ रन बनाए ।
सर्लाहीका लागि बलिङ गरेका चक्रराधर यादवले दुई विकेट लिए भने विशाल पटेल, अभय यादव, गोपिकान्त मुखिया र राहुल महतोले एक÷एक विकेट लिए । जवाफी ब्याटिङका लागि उत्रेका सर्लाही टिम १५ ओभर दुइ बलमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सके । सर्लाहीका लागि कैफ मिकरानी १७, राहुल महतो २० र संजिव दास ३१ रन बनाए ।
बाराका लागि कसिलो बलिङ गरेका अरनिको यादव चार ओभरमा १९ रन खर्चेर चार, निखिल सिंह तीन र पवन सराफले दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच बाराका अरनिको यादव घोषित भएका थिए । शनिबार रामजानकी अन्तराष्ट्रिय बहुउद्देश्य रंगशालामा उपाधिको लागि धनुषा र बाराबीच ९ बजेदेखि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।