एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : त्रेता युगमा अयोध्याका राजा भगवान रामको आज अयोध्यामा बहुप्रतिक्षित राममन्दिरको समुदघाटन र प्राण प्रतिष्ठान भइरहँदा जती उल्लास भारतमा छ प्राचिन मिथिलाको राजधानी र हाल नेपाल मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित मिथिलामा पनि कम उल्लास छैन ।
साँझ जानकी मन्दिरमा सावा लाख बढि दियो बालिएको छ भने मन्दिर प्राङ्गणलाई रंगोलीले सजाइएको छ । यसका साथै चोक चोकमा दिपोत्सवको आयोजना गरिएको हो । जानकी चौक, रामानन्दचौक सहित जनकपुरधामको हरेक चौकमा दिपोत्सव मात्र छैन दिपावली सरहनै घर घरमा दियो र मैनवती बालिएर झिलीमिली पारिएको छ ।
मिथिलामा यस कारणपनि अलिकति पनि कम उल्लास र उत्सवको माहोल छैन किनकी मिथिला भगवान रामको ससुराली र उनकी धर्मपत्नी सीताको माइती हो । छोरी ज्वाँईको नयाँ घर बनेर गृह प्रवेशमा माइतीमा हुने स्वभाविक खुसी र उल्लास अहिले जनकपुरधाममा छ । हेर्नोस त जनकपुरधामको सडकमा उत्रेको यो भिड ।
जनकपुरधाम र मिथिला क्षेत्रका स्थानिय आफनो छोरी चेली नयाँ घरमा गृहप्रवेश गरेको भन्दै उल्लासमा छन र खुसीयाली मनाइरहेका छन् । यस अघि पुष २२ गते जनकपुरधामको जानकी मन्दिरको नेतृत्वमा ११ सय उपहारको थान भार अयोध्याको राम मन्दिर ट्रष्टलाई बुझाइएको थियो । जस्मा चाँदीको खराम, तिर धनुष सहित रामजानकीका लागि भन्दै लाखौंको गरगहना समेत सामेल थियो । गाडीको लस्कर, बाजागाँजा सहित तिन दिन लगाएको अयोध्या पुगेको सो कोशेली पनि छोरी ज्वाँइकै लागि भन्दै सम्र्पित गरिएको थियो ।
जनकपुरधाम मात्र होइन महोतरीको धार्मिक नगरी मठिहानीमा पनि त्यस्तै उल्लास छ । प्राण प्रतिष्ठाकै अवसर पारेर महोत्तरीको जलेश्वर, मटिहानी लगायतको स्थानमा समेत भव्य पूजा अराधना गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठमा भगवान सीतारामको २५ फिट अग्लो प्रतिमा बनाएर पूजा अराधना गरिएको छ । पूजामा लोसपा अध्यक्ष महन्त ठाकुर, नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सहभागी हुनु भएको थियो । मन्त्री भण्डारीले सीताराम प्रतिमाको अनावरण गर्नु भयो ।
सो अवसरमा लोसपाका नेता जितेन्द्र सोनल सहितको उपस्थिती थियो । नेपाललाई भारतको पिपरौन संग जोडने धनुषाको जटही नाका स्थित महादेव मन्दिरमा नेपाल भारत खुल्ला सीमा संवाद समुह र नेपाल भारत सीमावर्ती नागरिक समाजले संयुक्त रुपमा हनुमान आराधनाको आयोजना गरेका छन् । ठाँउ ठाँउवाट झाँकी र बाजागाजा सहित जनकपुरधाममा वृहत झाँकी प्रदर्शन गरिदैछ । हरेक मठ मन्दिर र क्लव कमिटि देखि घर घरमा पुजापाठ, हनुमान आराधना गरि सीतारामको जाप गरिदैछ भने घर अगाडि रंगोली र घर माथी सिताराम र हनुमान अंकित झन्डा फहराइदै छ ।