एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ :
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसहितको टोली शुक्रवार भारतको अयोध्यामा नवनिर्मित मन्दिरमा हुन लागेको भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुनका लागि अयोध्याका लागि प्रस्थान गर्दैछ । ५ सयको लामो संघर्ष तथा ३० वर्षको कानूनी लडाईपछि निर्माणधिन भगवान रामको मन्दिर निर्माणमा जनवरी २२ तारिखका दिन भगवान रामको प्राण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुन लागेको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुनका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहितको टोली अयोध्याका लागि प्रस्थान गर्न लागेको हो । राम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टले जानकी मन्दिरका महन्थ र उत्तराधिकारी महन्थलाई प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा पठाएको हो ।
यता भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिन माग गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै माग गरेका हुन् । अगामी माघ ८ गते अर्थात् जनवरी २२ तारेखमा राममन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो दिन प्रदेशभरि सार्वजनिक बिदा दिइ र दिपावली मनाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको भव्य मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन आग्रह गर्दै प्रदेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले आग्रह गरेका हुन् ।