एसपी रिपोर्टर
जनकपुरधाम बैशाख ४ :
भारत सरकारले हालसम्म मधेस प्रदेशका लागि कुल ८९ आयोजनाहरू स्वीकृत गरेको बताइएको छ । धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा करिब ४ करोड २० लाखको लागतमा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गर्नुहुँदै पर्साको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीनाले भारत सरकारले नेपाल सरकारको शिक्षा पूर्वाधार विकाससहित विभिन्न क्षेत्रमा हालसम्म ८९ वटा आयोजनाको स्वीकृति प्रदान गरेको बताउनुभएको छ ।

ती कुल ८९ आयोजनामा ६१ वटा आयोजना सम्पन्न भइसकेको र २८ वटा आयोजना द्रुत गतिमा अगाडि बढिरहेको बताउनुहुँदै महावाणिज्य दूत मिनाले ८९ मध्ये ५४ आयोजना शिक्षा क्षेत्रसँग जोडिएको, सात आयोजना स्वास्थ्य क्षेत्रसँग जोडिएको र आठ रोड तथा पुलसँग सम्बन्धित पूर्वाधार विकासका आयोजनाहरू रहेको बताउनुभयो । तीनवटा आयोजना संस्कृति क्षेत्रसँग, पाँचवटा आयोजना विद्युतीयकरणसँग, दुईवटा आयोजना सिँचाइसँग र एक आयोजना नदी तटबन्धसँग सहित ९ अन्य विभिन्न क्षेत्रसँग समेत सम्बन्धित रहेको उहाँको धारणा थियो ।

ती ८९ आयोजनामध्ये २१ वटा आयोजना धनुषा जिल्लामा मात्र केन्द्रित रहेको, जसमध्ये १३ सम्पन्न भइसकेको र आठको काम जारी रहेको पनि उहाँले थप्नुभयो। ती आयोजनाहरूको अलावा अहिलेसम्म भारत सरकारले मधेश प्रदेशमा २३२ एम्बुलेन्स र ४० स्कुल बस उपहारमा प्रदान गरेको, जसमध्ये ४६ एम्बुलेन्स र ११ स्कुल बस धनुषा जिल्लामा प्रदान गरिएको उहाँको कथन थियो। एकदमै निकटतम छिमेकीको नाताले नेपाल र भारतबीच व्यापक र बहुआयामिक विकास साझेदारी रहेको र यसले दुई देश बीचको जनताको आपसी सम्बन्ध कस्तो मजबुत छ भन्ने कुरा दर्शाइरहेको पनि उहाँले बताउनुभयो

आज विद्यालयको प्राङ्गणमा भएको शिलान्यास कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरूले मधेसको शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगले क्षेत्रको समुचित विकासमा टेवा पुग्ने गरेको बताउनुभयो ।शिलान्यास गरिएको भवनमा ३ दशमलव ४५ करोड लगानी भारत सरकारको रहनेछ भने १८ लाख बटेश्वर गाउँपालिकाले लगानी गर्नेछ । भारत सरकारको एचआइसिडिपी कार्यक्रम अन्तर्गत यो माध्यमिक विद्यालयको भवन निर्माण परियोजना सुरुवात भएको हो ।