एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ :
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित आधारभूत विद्यालयमा नव–निर्मित ४ कोठे पक्की भवन उद्घाटन गरिएको छ। संघीय सरकारको बजेट तथा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत प्राप्त सशर्त अनुदानमा निर्माण भएको उक्त भवन नगरप्रमुख मनोजकुमार साह र उप–प्रमुख किशोरी साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

६० लाख रुपैयाँ लागतको भवन निर्माणमा संघीय सरकारले ५५ लाख, उपमहानगरपालिकाले २ लाख र विद्यालयले ३ लाख रुपैयाँ व्यहोरेको जनाएको छ।
उद्घाटन समारोहमा नगरप्रमुख साहले विद्यालयहरूमा शिक्षक अभाव चाँडै समाधान गर्न शिक्षक भर्ना प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा रहेको उल्लेख गर्दै विद्यालयहरूलाई इएमआइएस प्रणालीमा विद्यार्थी संख्या यथार्थ रूपमा अद्यावधिक गर्न आग्रह गरे।
कार्यक्रममा उप–प्रमुख किशोरी साह, वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सैनिया यादव तथा प्रधानाध्यापक गौरी शंकर लाल कर्णलगायतको उपस्थिति रहेको थियो।






