एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ५ :
जनकपुरधाम क्षेत्रको प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा विकसित हुँदै गएको जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.ले सेवा विस्तार गर्दै नयाँ सुविधाहरू सञ्चालनमा ल्याएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित रिसोर्टले बैशाख ७ गतेदेखि ‘बगैंचा’ नामक नयाँ सेवा सुरु गरेको हो। यसअन्तर्गत ठूलो क्षमतायुक्त रेस्टुरेन्ट, आधुनिक मिटिङ हल, विभिन्न कार्यक्रमका लागि ब्यांकेट, बालबालिकाका लागि किड्स प्ले जोन तथा खुला वातावरणमा मनोरञ्जन गर्न मिल्ने ओपन लाउन्ज सञ्चालनमा ल्याइएको संचालक गुड्डु जैनले जानकारी दिए।

रिसोर्टले यसअघि नै ‘वन्डर ल्याण्ड वाटर पार्क’ सञ्चालन गर्दै बालबालिका, युवा तथा पर्यटकलाई लक्षित सुरक्षित र मनोरञ्जनात्मक सेवा प्रदान गर्दै आएको उनले बताए। जनकपुरधाम क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएकाले सेवा विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
खानपानतर्फ थकाली, भारतीय तथा कन्टिनेन्टल परिकारसँगै मिथिला क्षेत्रको मौलिक स्वाद झल्काउने ‘मिथिला थाली’को व्यवस्था गरिएको छ। साथै, हरियाली वातावरणमा भोजनको आनन्द लिन सकिने गार्डेन रेस्टुरेन्ट सुविधा पनि थप गरिएको छ।