एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ४ :
जानकी नवमीको अवसरमा इस्कोन जनकपुरधामले यस वर्ष पनि ९ दिवसीय भव्य धार्मिक महोत्सव आयोजना गर्ने भएको छ। धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
इस्कोन जनकपुरधामको आयोजनामा श्रीमद् भागवत कथा, जानकीजीको महाअभिषेक तथा श्री जगन्नाथ, बलदेव र सुभद्राको रथयात्रासहित विविध कार्यक्रम समावेश गरिएका छन्। इस्कोन जनकपुरधामका अध्यक्ष रमेश्वरम दासका अनुसार वैशाख ५ गतेदेखि ११ गतेसम्म श्रीमद् भागवत कथा सञ्चालन हुनेछ।

त्यसैगरी, वैशाख १२ गते जानकी जन्मोत्सवको अवसरमा विशेष महाअभिषेक कार्यक्रम गरिनेछ भने वैशाख १३ गते श्री जगन्नाथ रथयात्रा महोत्सव भव्य रूपमा आयोजना गरिने तय गरिएको छ।
महोत्सव अवधिभर दैनिक रूपमा कथा प्रवचन, भजन–कीर्तन तथा विशेष पूजा–अर्चना सञ्चालन गरिनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई सपरिवार उपस्थित भई माता जानकीको आशीर्वाद लिन तथा महाप्रसाद ग्रहण गर्न आग्रह गरेको छ। कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह तथा इस्कोन जनकपुरधामका उपाध्यक्ष रमेश साहको उपस्थिति रहेको थियो।