– प्रफुल्ल घिमिरे ✍️
कस्तो विडम्बना आफ्नै भूमि, आफ्नै सभ्यता, आफ्नै सांस्कृतिक धरोहरको केन्द्रमा अवतरित भएकी आदर्श नारी, त्याग र मर्यादाको अनुपम प्रतिमूर्ति माता जानकीको जन्मोत्सवका दिन राष्ट्रिय बिदा दिनका लागि अझै पनि माग गर्नुपर्ने अवस्था सिर्जना हुनु स्वयंमा गम्भीर प्रश्न हो। अझ यस विषयमा आन्दोलनकै आवश्यकता महसुस हुनुले राज्यको प्राथमिकता, संवेदनशीलता र सांस्कृतिक दृष्टिकोणमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। यो केवल धार्मिक आस्थाको विषय मात्र होइन, यो नेपालको आत्मा, पहिचान र सभ्यताको सम्मानसँग प्रत्यक्ष जोडिएको विषय हो।
नेपालको इतिहास, धर्म, संस्कृति र पहिचानको मूल जरोसँग गाँसिएकी जानकीलाई राज्यले निरन्तर उपेक्षा गर्नु भनेको आफ्नै मौलिक अस्तित्वलाई कमजोर बनाउनु सरह हो। आजको विश्वमा जहाँ राष्ट्रहरू आफ्ना सांस्कृतिक धरोहरलाई विश्वमाझ प्रस्तुत गरेर पहिचान स्थापित गरिरहेका छन्, त्यही बेला नेपालले आफ्नै गौरवपूर्ण सम्पदालाई बेवास्ता गर्नु अत्यन्तै दुःखद र चिन्ताजनक विषय बनेको छ।
वर्तमान सरकार परिवर्तनको नारासहित सत्तामा आएको छ। तर परिवर्तन भनेको केवल राजनीतिक संरचनाको अदलबदल मात्र होइन, परिवर्तन भनेको सोच, दृष्टिकोण, प्राथमिकता र मूल्यको रूपान्तरण पनि हो। यदि सरकारले साँच्चिकै परिवर्तनको अनुभूति गराउन चाहन्छ भने त्यसको पहिलो झल्को आफ्नै सभ्यता र सांस्कृतिक आस्थाको सम्मानबाट देखिनुपर्छ।
मिथिला भूमि, नेपालको गौरव, जनकपुरधामको पावन माटोमा अवतरित भएकी जानकी केवल धार्मिक पात्र मात्र होइनन्। उहाँ सम्पूर्ण मानव सभ्यताका लागि नैतिकताको प्रेरणा, सहनशीलताको प्रतिमूर्ति, त्यागको उदाहरण र मर्यादाको आदर्श हुनुहुन्छ। उहाँको जीवनले समाजलाई दिएको सन्देश–धैर्य, संयम, सत्यनिष्ठा, कर्तव्यपरायणता र आत्मबल आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन्।
यस्तो महान् व्यक्तित्वको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मान्यता नदिनु केवल प्रशासनिक कमजोरी होइन, यो सांस्कृतिक असंवेदनशीलताको चरम उदाहरण हो। राज्यले आफ्ना नागरिकको आस्था र भावनालाई सम्मान नगर्दा त्यसले दीर्घकालीन रूपमा सामाजिक एकता र राष्ट्रिय समन्वयमा नकारात्मक असर पार्न सक्छ।
नेपाल सरकारले प्रकाशित गर्ने सार्वजनिक बिदाहरूको सूचीमा विभिन्न धर्म, संस्कृति र समुदायका पर्वहरूलाई समेट्ने प्रयास निश्चित रूपमा प्रशंसनीय छ। विविधता भित्रको एकता नेपालको विशेषता हो, र त्यसको सम्मान गर्नु राज्यको दायित्व पनि हो। तर यति धेरै पर्वहरू समेटिँदा पनि जानकी नवमी जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण पर्व छुट्नु केवल संयोग मात्र भन्न मिल्दैन। यो राज्यको प्राथमिकतामा रहेको कमजोरीको संकेत हो।
जानकी नवमी केवल एउटा पर्व होइन। यो मिथिला सभ्यता, मधेशको सांस्कृतिक धरोहर, नेपालको ऐतिहासिक पहिचान र विश्वभरका करोडौँ सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। जनकपुरधाम केवल एक धार्मिक स्थल मात्र होइन, यो नेपालको अन्तर्राष्ट्रिय पहिचानको आधार हो। रामायणकालीन इतिहाससँग जोडिएको यो भूमि विश्वभर श्रद्धा र विश्वासको केन्द्र बनेको छ।
यस्तो अवस्थामा जानकी नवमीलाई राष्ट्रिय बिदाबाट वञ्चित गर्नु भनेको नेपालले आफ्नै सांस्कृतिक सम्पदाको मूल्यलाई कम आँक्नु हो। यो केवल मधेश वा मिथिला क्षेत्रको मुद्दा होइन, यो सम्पूर्ण नेपालीको साझा पहिचानको प्रश्न हो। राज्यको दायित्व केवल शासन सञ्चालन गर्नु मात्र होइन, उसले देशको सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्नु पनि उतिकै महत्वपूर्ण जिम्मेवारी हो। यदि राज्य आफ्नै पहिचानप्रति उदासीन रहन्छ भने त्यसले राष्ट्रिय एकताको आधारलाई कमजोर पार्न सक्छ।
आजको सन्दर्भमा जानकी नवमीलाई राष्ट्रिय बिदाका रूपमा घोषणा गर्नु केवल धार्मिक मागको सम्बोधन मात्र हुनेछैन, यो राष्ट्रिय एकताको सुदृढीकरण, सांस्कृतिक सम्मानको पुनस्र्थापना र जनभावनाको कदर गर्ने महत्वपूर्ण कदम हुनेछ। नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँका विभिन्न परम्परा र संस्कृतिहरू मिलेर नेपालको समग्र पहिचान निर्माण गरेका छन्। जानकी नवमी त्यही बहुआयामिक सांस्कृतिक संरचनाको एक महत्वपूर्ण आधार हो। यसलाई राष्ट्रिय रूपमा मान्यता दिनु भनेको समावेशी सोचको वास्तविक कार्यान्वयन हो।
यस निर्णयले मधेश र पहाडबीचको भावनात्मक दूरी कम गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ। लामो समयदेखि उपेक्षा भएको अनुभूति बोकेका समुदायहरूका लागि यस्तो निर्णयले राज्यप्रति विश्वास पुनस्र्थापित गर्नेछ। त्यसैगरी, जानकीसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो। जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ। यसले नेपालको आर्थिक विकासमा समेत योगदान पु¥याउनेछ।
विश्वका विभिन्न देशहरूले आफ्नो सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरेर पर्यटन, अर्थतन्त्र र राष्ट्रिय गौरवलाई सुदृढ बनाएका छन्। नेपालसँग पनि त्यस्तो अपार सम्भावना छ, तर त्यसका लागि राज्यको स्पष्ट नीति र प्रतिबद्धता आवश्यक छ। आज आवश्यकता आन्दोलनको होइन, समझदारीको हो। आवश्यकता टकरावको होइन, सम्मानको हो। सरकार र जनताबीचको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, र त्यो विश्वास सांस्कृतिक संवेदनशीलताबाट मजबुत बन्छ।
अतः, वर्तमान सरकारसँग सादर तर दृढ आग्रह छ कि वैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमीलाई तत्काल राष्ट्रिय सार्वजनिक बिदाका रूपमा घोषणा गरियोस्। यससँगै जनकपुरधाम लगायत देशभर यस पर्वलाई राष्ट्रिय स्तरमा सम्मानपूर्वक मनाउने वातावरण सिर्जना गरियोस्। साथै, माता जानकीसँग सम्बन्धित सम्पूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण, संवद्र्धन र अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि दीर्घकालीन नीति अवलम्बन गरियोस्।
यो माग कुनै एक क्षेत्र, समुदाय वा वर्गको मात्र होइन, यो सम्पूर्ण नेपालीको साझा पहिचान, राष्ट्रिय गौरव र सांस्कृतिक अस्तित्वसँग सम्बन्धित विषय हो। यदि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर सकारात्मक निर्णय गर्छ भने यसले केवल एउटा पर्वलाई मान्यता दिने काम मात्र गर्ने छैन, यसले सम्पूर्ण राष्ट्रको सांस्कृतिक आत्मसम्मानलाई उचाइमा पु¥याउनेछ। अन्ततः, जानकी माताको प्रेरणाले सबैमा सद्बुद्धि जागृत होस्, राष्ट्र सही मार्गमा अघि बढोस्, र नेपाल सरकारले आफ्नै सांस्कृतिक धरोहरको सम्मान गर्दै दूरदर्शी र समावेशी निर्णय लिन सकोस्—यही अपेक्षा।
अस्तु।





