एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : देश बाहिर बस्ने नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघले जनकपुरधाममा एक सुविधान सम्पन्न आधुनिक रक्त संकलन गर्ने एम्बुलेन्स बस हस्तान्तरण गरेको छ । मधेश प्रदेश भरिनै काम लाग्ने गरि एनआरएनए मोबाइल ब्लड भ्यान जनकपुरधाम उपमहानगरपालिकाको प्राङ्गणमा एक समारोहका बिच एनआरएनएका पदाधिकारीहरुले नेपाल रेडक्रस सोसाइटी धनुषालाई हस्तान्तरण गरेको छ ।
हरेक प्रदेश एक ब्लड बस नारा र हरेक घर एक रक्तदाता उद्देश्य सहित एनआरएनएले जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा सो बस रेडक्रस धनुषाका प्रमुख डा. नरेश सिंहलाई हस्तान्तरण गरेका छन् । एनआरएनएले जनकपुरधाम उपमहानगरपालिकालाई र उपमहानगरपालिकाले रेडक्रसलाई सो भ्यान हस्तान्तरण गरेको जनकपुरधामका मेयर मनोज कुमार साहले बताए ।
बसमा रक्त संकलन गर्ने आधुनिक आरामदायी बेड, रक्त सुरिक्षत राख्ने फ्रिज र वातानुकुलित वातावरण सहितको सुविधाका साथै बसको छाना माथी आवश्यक परेका वेला लगाउन मिल्ने टेन्ट छानो समेत जडान गरिएको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान राय सहितका पदाधिकारीहरुको उपस्थिती थियो ।
एनआरएनएका अनुसार बागमती, गण्डकी, सुदुरपश्चित र कोशीमा यस्तै भ्यान हस्तान्तरण गरिसकिएको छ भने वाँकी प्रदेशहरुमा पनि छिटै प्रदान गरिने छ ।