एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १६ :
पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताएका छन् ।
जनकपुरधाम–२३ लादोवेलामा गैरअवासीय नेपाली सङ्घको आयोजनामा सञ्चालनमा आएको बेलायती कम्पनी बेलेकोको शाखाको आज उद्घाटन गर्दै उनले भने, ‘अब नेपालमा कसैले सोच्दैमा राजतन्त्र फर्किनेवाला छैन । नेपाली जनताको बलिदानीबाट आएको गणतन्त्र कायम नै रहनेछ । काठमाडौंको कुनै गल्ली र चोकमा यसो जुलुस निकालेर गणतन्त्रलाई समाप्त पार्न सक्दैन ।’
नेता निधिले अहिले सबै राजनीतिक पार्टीले सातवटै प्रदेशलाई प्रहरी संगठन दिने पहिलो काम गर्नुपर्ने छ । सातवटै प्रदेशमा उसको आफ्नो कर्मचारी र प्रशासन तत्काल व्यवस्थापन गर्नुपर्दछ । यस्तो गरिएन भने यो संविधानमा लेखिएको यी कुराको कुनै अर्थ रहनेछैन ।
उनले मुलुकमा आर्थिक मन्दी भएको बेलामा बेलायत तथा कतारमा प्रतिष्ठा आर्जन गरेको बेलेकोको कम्पनीका शाखा खुलेकोमा खुसी व्यक्त गर्दै यसले यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कम्पनीको शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका बेरोजगार युवाहरूले स्वदेशमै रोजगारी पाउने सक्ने बताए । यस्तै कार्यक्रममा उपस्थित लोसपाका नेता परमेश्वर साहले जनकपुरधाममा व्यापारीहरू पलायन भइरहेको वेलामा प्रसिद्ध कम्पनीको शाखा खुल्नु खुसीको विषय भएको बताए ।
गैरअवासीय नेपाली संघका युरोप शाखाका अध्यक्ष चिन्तामणि शर्माले नेपालमा गैरअवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकका नागरिकता प्रदान गर्न थालेपछि लगानीका लागि उत्साहित भएको बताए ।
कम्पनीका सञ्चालक मोहम्द ईसराईलको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिओ अब्दुल बासिर, कम्पनीका ब्राण्ड एम्बेस्डर प्रदीप खडकाले कम्पनीले उत्पादन गरेका ४३ प्रकारका घरेलु उपभोगका सामानहरूको बिक्री वितरण साथै निकट भविष्यमा जनकपुरधामबाटै उत्पादनको काम गर्ने बताए ।