एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ :
मानव अधिकारका लागि महिला एकल समूह मधेश प्रदेशको आयोजनामा हिंसापीडित तथा सीमान्तकृत महिलाहरूको मानवअधिकार अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा हिंसापीडित, एकल तथा सीमान्तकृत महिलाले भोगिरहेका मानवअधिकारसम्बन्धी समस्या, सामाजिक विभेद, न्यायमा पहुँच तथा समसामयिक मुद्दामाथि छलफल गरिएको थियो । वक्ताहरूले अहिले पनि समाजमा एकल महिलाहरू विभेदको चपेटामा परिरहनु चिन्ताको विषय भएको बताएका छन् ।
उनीहरूले एकल महिलाको अवस्थामा सुधार ल्याउन राज्यबाट प्रभावकारी पहल हुन नसकेको आरोप लगाउँदै हिंसापीडित तथा सीमान्तकृत समुदायका महिलाको अवस्था अझै नाजुक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा यादव, राष्ट्रिय मानव अधिकार आयोगकी लीली थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।
मानव अधिकारका लागि महिला एकल समूह मधेशकी अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।





