एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले पार्टीका हरेक कार्यकर्ता १५औँ महाधिवेशनकालागि एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस धनुषा ३को क्षेत्रीय सभापति धिरेन्द्र निधिको १३औँ दिनको पूण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्व उपसभापति सिंहले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुक र पार्टी दूबै संकटबाट गुज्रिरहेकाले हामी नेपाली कांग्रेसका कार्यकर्ताहरु एक ढिक्का हुनुको विकल्प नरहेको स्पष्ट पारे । १५औँ महाधिवेशनको माध्यमले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरहरुको मनोभावनालाई बुझेर निश्पक्ष तथा स्वच्छ ढंगले महाधिवेशन गर्नुपर्ने उनको भनाई थियो ।

सिंहले अहिले भईरहेको सदस्यता अद्यावधिकको खासै कुनै तुक नरहेको स्पष्ट गरे । उनले अद्यावधिक गराउनेलाई कांग्रेसी मान्ने र नगराउने कांग्रेसका कार्यकर्तालाई कांग्रेसी नमान्ने मानसिकता उचित नरहेको समेत बताए ।
कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त, लोकतान्त्रिक पद्धति, संघियता समावेशिताको रक्षाका लागि अझै संघर्ष गर्न आवश्यक रहेको बताए ।

पूर्व उपसभापति विमलेन्द्र निधिले समेत कांग्रेसलाई मजबुत बनाउनकालागि एकताको महाधिवेशन नै विकल्प रहेको बताए । यसका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस धनुषा ३को क्षेत्री सभापति रामचन्द्र पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेताहरुले कांग्रेस कममजोर भएकै कारण अहिले मुलुक पनि संकटबाट गुज्रिरहेको बताए ।

कार्यक्रममा मधेसका मुख्यमन्त्री कृष्ण यादव, राष्ट्रिसभा सदस्य आनन्द ढुंगाना, पूर्व सहमहामन्त्री महेन्द्र यादव, प्रदेशसभा सदस्य रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, नेपाल प्रजातन्त्र सेनानी संघ मधेस प्रदेशका अध्यक्ष राम भरत साह लगायतका नेताहरुले आफ्नो धारणा राखे ।